Friday, July 3

९२ लाख रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माण

नेपालअखबार, म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ र्‍यालेखोर र भाइवाङमा ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ।

Advertisement

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार ९८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन्।

Advertisement
Advertisement

उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए।

Advertisement

‘यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,’ उनले भने, ‘वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो।’

मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए।

नेवा संस्थाको ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको २७ लाख अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ। अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप ३ लाख ७५ हजार २१२ नगद सङ्कलन गरिएको थियो।

त्रिभुवन मङ्गला मावि र र्‍यालखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको  वितरण गरिएको हो।

नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन्।

संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताए। खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उनले बताए।