Saturday, July 11

भोलिदेखि श्रमाधान रोजगार मेला

नेपालअखबार,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला बिहीबार कोशी प्रदेशको विराटनगरमा सुरु हुने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

Advertisement

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने मन्त्रालयका प्रवक्ता गोविन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Advertisement

मेलामा रोजगारीको खोजीमा रहेकाहरू रोजगारदातासम्म पुग्ने, अवसरको पहिचान गर्ने र आवश्यक सीपको बारेमा जानकारी पाउन सक्ने उनले बताए ।

श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले पनि स्टल राख्नेछन् ।

देशको सातै वटा प्रदेशमा चल्ने मेला प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन हुनेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।

कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।