Tuesday, November 4

विद्यालयले भाडामा दिएका सटर बन्द गराउँदै काठमाडौं महानगर

नेपालअखबार,काठमाडौं । विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौं महानगरपालिकाले बन्द गराउन थालेको छ । महानगर शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको हो ।आइतबार पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको दाहालले बताए । आदर्श आधारभूत विद्यालयको सटर यसअघि महानगरले बन्द गराइसकेको छ ।

Advertisement

उनले भने ‘अबदेखि सबै विद्यालयका सटरहरू विद्यालय प्रयोजनकै लागि प्रयोग हुन्छन् । सटर भाडामा नदिँदा विद्यालय सञ्चालनमा आर्थिक भार पर्छ भने त्यसमा महानगरले सघाउँछ ।’ दाहालका अनुसार सटर भाडामा लगाएर विद्यालय सञ्चालन गरिरहेका विद्यालयको अध्ययन गरेर आवश्यक रकम उपलब्ध गराउने तयारी भएको छ ।

Advertisement

महानगरले गत असोजदेखि नै विद्यालयले भाडामा लगाएका सटर खाली गराउन सूचित गर्दै आएको थियो । महानगरले त्यस्ता विद्यालयलाई सटर भाडामा लगाउँदा पर्ने आर्थिक भारको विवरण माग्दा पनि बेवास्ता गरेपछि महानगर सटर बन्द गर्न बाध्य भएको दाहालले बताए ।महानगरले विद्यालयका सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीहरूलाई एक हप्ताभित्र सामान लिएर जाने समय दिएको छ । महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर भाडामा लगाएको शाखाले जनाएको छ ।