Monday, May 25

सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा

नेपालअखबार, पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ।

तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो।

Advertisement

गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन्।

जमिन भासिएपछि स्थानीयले प्लाष्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए।

उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन्।

वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिमा परेका जानकारी दिए।   केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउनसक्ने उनको भनाइ छ।

यसैबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङले जमिन भासिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणपछि मन्त्री गुरुङले तत्काल पहिरो नियन्त्रण गर्न आवश्यक डिजाइनक खाका तयार गर्न निर्देशन दिएको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए। ।

पालिकाले अनुमानित लागत र डिजाइन तयार गरेपछि पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री गुरुङले आश्वासन दिनुभएको छ ।

बस्ती माथिकोे जमिन भासिएपछि सडकमा सवारी आगमनमा समस्या परेको र जमिन भासिएको स्थान नजिकका घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उपाध्यक्ष लामिछानेले बताए।

गाउँपालिकाले तत्काल रोकथामको प्रयास गरिरहेको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यकपर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पहिरो नियन्त्रणमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिए।

सोही खण्डअन्तर्गत दराक र थामर्जुङ, पहरे, काउछे, भगरिका केही घर पहिरोको जोखिमा रहेका पालिका कार्यालयले जनाएको छ।

यस वर्षको मनसुन सक्रिय भएपछि मोदी गाउँपालिकाको वडा नं २ देउपुरको जरुवामा रहेको दलित बस्ती पूर्ण रुपमा बगरमा परिणत भएको छ। यहाँ बस्दै आएका १५ परिवार विस्थापित भएका छन्। रासस