Friday, March 13

संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी : प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बताए ।

Advertisement

सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधान संशोधनबाट समाप्त पार्न खोजिएको आशंका गर्दै उनले भने, ‘फेरि जरुरी पर्छ भने सडकमा पलेंटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं ।’

समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताए । ‘थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथाकथित दुई पार्टी सिस्टम जो पश्चिमा देशमा चलेको छ, नेपाललाई पनि त्यता लैजान खोजिएको छ ।’

आफू संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको पनि टिप्पणी गरे ।

‘मैले दलाल पूँजीपतिहरुको सेटिङको अगाडि आत्मसमर्पण गर्न तयार नभएकै कारण, विभिन्न बिचौलियाको सेटिङ भत्काउन गरेको प्रयासकै परिणाम आजको राजनीतिक परिस्थिति हो’, उनले भने ।