Saturday, May 23

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त

नेपालअखबार, काठमाडौँ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेका छन्।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार बुधबार पदमुक्त भएका हुन्।

Advertisement

उनीहरूलाई पदमुक्त गर्न सोमबारको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

साथै तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त भएका छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। देवकोटा कैलालीका हुन् भने घर्तीमगर रोल्पा र जोशी बझाङका हुन्।

राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णय र सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखहरू नियुक्त गरेका हुन्।

नेपाली कांग्रेस र नेकपा (एमाले) ले गत असार १७ को सहमतिअनुसार केपी शर्मा ओलीको नेतृत्वमा संघीय सरकार गठन गरेपछि तीन प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेका हुन्।