Sunday, July 26

साढे ३ सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार

नेपालअखबार, वालिङ । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो ।

Advertisement

धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रुपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुङ्गै ढुङ्गाले बनाइएकाले विनाश भएपछि त्यसको संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गरिदिएको हो ।

Advertisement
Advertisement

सन्यास सन्यासीहरुको आश्रमस्थलका रुपमा पहिचान बनाएको यो ठाउँ आयुर्वेदसम्बन्धी औषधोपचार केन्द्रका हिसाबले ख्याति पाएको आश्रमका संरक्षक एवं पशुपतिनाथका महन्त वेदान्तचार्य स्वामी गोकुलानन्दले बताए । लेखपढ गर्ने सिकाइ केन्द्रका साथै धर्म संस्कार संस्कृतिको केन्द्रका रुपमा आश्रमको छुट्टै पहिचान रहिआएको थियो ।

Advertisement

तत्कालीन समयमा तीर्थव्रत गर्न जाने श्रद्धालु भक्तजन यही आश्रमको बाटो हुँदै जाने गरेको उनले बताए । गुठी संस्थानमा दर्ता भई सञ्चालनमा रहेको यो नारायणश्वर शिवजी मन्दिर तथा आश्रम पुरानो र जीर्ण हुँदै गएपछि जीर्णोद्धारको काम अगाडि बढेको हो ।

‘धर्म संस्कार संस्कृति तथा ऐतिहासिक दृष्टिले यस ठाउँको छुट्टै पहिचान रहेको छ’, उनले भने, ‘इतिहासको रक्षा र यस ठाउँको पहिचान नामेट हुन नदिन प्रयासरत छौँ।’

ऐतिहासिक महत्वको यो ठाउँमा रहेका आश्रम तथा मन्दिर जीर्ण भई लथालिङ्ग हुँदै गएपछि यसको संरक्षणका लागि चासो दिएर पुनःनिर्माण गरिएको आश्रम निर्माण समितिका सचिव कृष्ण गिरीले बताए ।

जीर्ण अवस्थामा रहेको आश्रम र शिवजी मन्दिरको पुनःनिर्माण तथा जीर्णोद्धार गरिएको छ । सोही ठाउँमा साधुसन्तको आवासगृह, व्यवस्थित गौशाला, हवनकुण्ड, यज्ञकुण्ड, शौचालयलगायत भौतिक संरचनाहरु निर्माण गरिएको उनले बताए ।

‘समितिसँग निर्माण कार्य गर्न रकम नभएकाले सहयोगी सङ्घसंस्थाबाट आर्थिक सङ्कलन गरी निर्माण कार्य गर्दै आएका छौँ’, उनले भने, ‘यस ठाउँको प्रचारप्रसारसँगै आर्थिक सङ्कलनका लागि यसअघि महायज्ञसमेत सञ्चालन गरेका थियौँ।’

गाउँपालिकाले यस ठाउँको महत्वका बारेमा जानकारी गराउन स्थानीय पाठ्यक्रममा चम्पा गिरी जन्मआश्रम तथा नारायणश्वर शिवजी मन्दिरको विषयवस्तुलाई समावेश गरेको छ ।