Wednesday, July 29

कर्णालीका सबै जोखिमयुक्त घरहरूको बीमा गर्दैछौं: मुख्यमन्त्री कँडेल

नेपालअखबार, कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरूको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन्।

Advertisement

किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा घर बीमामा बजेट छुट्याएको उनले बताए। प्रदेश सरकारले यसका लागि चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

Advertisement
Advertisement

‘राष्ट्रियस्तरको यो बहसमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकार तथा साझेदार निकायहरू छौं,’ मुख्यमन्त्री कँडेलले भने, ‘विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य सम्बन्धी यसले जारी गर्ने घोषणापत्र कर्णाली सरकारले सम्बोधन गर्ने होस्।’

Advertisement

उनले प्रदेश सरकारले गत वर्षको जाजरकोट भुकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई रु.दुई लाखका दर विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा रकम दिइएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा विपद् जोखिम विरूद्ध सामूहिक दुर्घटना बीमाका लागि प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ।  खाद्य तथा कृषि सङ्गठनका नेपाल–भुटानका देशीय प्रतिनिधि केन सिमिजुले विपद जोखिमको बेला सक्दो मानवीय सहायता प्रदान गरिआएको बताए। उनले विपद् जोखिम प्रतिकार्यमा सबै सरोकारवाला एक भएर जानुपर्ने सुझाए।

उक्त बहसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली समेतले विपद् जोखिम बढ्दो रुपमा देखिन थालेकामा चिन्ता व्यक्त गरे।