Saturday, November 15

बाढीपहिरोका घाइतेलाई नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालअखबार,काठमाडौँ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर घाइते भएकाहरुको नि:शुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्काल तथा विपद् व्यवस्थापन युनिटका प्रमुख डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको निशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइएको बताए ।

Advertisement

विज्ञप्ति अनुसार सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूलाई आपतकालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याका बारेमा जानकारी प्रदान गर्नका लागि हटलाईन नम्बर सार्वजनिक गर्न पनि भनिएको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीयतहका द्रूत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा रहन पनि भनिएको छ ।

केहि दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा बदलाव आई मेघ गर्जन/ चट्याङ्ग/ हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प्राकृतिक प्रकोपले गर्दा जनमानसको स्वास्थ्यमा प्रतिकुल प्रभाव परिरहेको र भविष्यमा थप पार्नसक्ने भएकोले सबै स्वास्थ्य सँस्था र सम्बन्धित सरोकारवालाहरूलाई सतर्क रही तपसिल बमोजिमको कार्य गर्न गराउनुहुन यो विज्ञप्ति जारी गरिएको छ। स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

‘प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोगहरू (जस्तै झाडापखाला, हैजा, आदि) तथा कीटजन्य रोगहरू (जस्तै डेंगी, मलेरिया आदि) पनि बढ्न सक्ने हुनाले सबै सरोकारवालाले सोको बारेमा सतर्कता अपनाउनुहुन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने,’ विज्ञप्तिमा भनिएको छ