Friday, July 17

नेपाल एयरलाइन्सका एयर होस्टेज काममा फर्किए

नेपालअखबार,काठमाडौँ । दसैँको मुखमा ४५ वर्ष उमेर हदको विषयलाई लिएर आन्दोलन गर्दै आएका नेपाल एयरलाइन्सका एयर होस्टेजहरु काममा फर्किएका छन् । शनिवार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा उमेर हद ५० वर्ष पुर्‍याउन मन्त्रालय सहमत भएपछि  उनीहरू आन्दोलन स्थगित गरेका हुन् ।

Advertisement

नेपाल एयरलाइन्सको नियमावलीमा विमानको परिचारिकाका लागि ४५ वर्षको उमेर हद रहने व्यवस्था छ । उक्त उमेर बढाउन उनीहरूले माग गर्दै आएका थिए ।

Advertisement
Advertisement

आजको छलफलमा उक्त नियमावली परिवर्तन गर्ने प्रक्रिया सुरु गर्न मन्त्रालय सहमत भएको छ । यद्यपि यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र  अन्तरिम आदेश समेत भएकोले महान्यायाधिवक्तासँग परामर्श गरेर अघि बढ्ने मन्त्री बद्री पाण्डेले बताए ।

Advertisement

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरुले आफूहरूमाथि भेदभाव भएको, आफूहरूलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरूको सुनुवाइ नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए । उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए । उनले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने बताए । मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक/परिचारिकाहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिबद्धतासहित फर्किनुभएको मन्त्री पाण्डेको भनाई थियो ।

निगममा कार्यरत परिचारिकाहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी गत पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दा अहिले विचाराधीन छ । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै बुधबारदेखि उनीहरू आन्दोलनमा थिए ।