Saturday, July 18

चिउरीको दाना पेलेर घ्यूको जोहो

नेपालअखबार,देउखुरी (दाङ) । गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ ।

Advertisement

नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।

Advertisement
Advertisement

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ ।  सोही  गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिइन् । उनले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेको बताइन् ।

Advertisement

घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा गएर चिउरी टिप्ने गरेको उनले बताइन्। ‘प्रत्येक वर्ष बिजुला टिप्ने र पेल्ने गर्छौँ, यस वर्ष पाँच मुरी चिउरी टिपेका थियौँ, त्यही पेलेर घ्यू बनाउँदैछौँ,’ गिरीले भनिन् । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दै आएको उनले बताइन् ।

उनले भने, ‘बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।’ चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको गिरीले बताइन् । तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उनले बताइन्। बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताइन्। गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ, एक्लै काम गर्न गाह्रो हुन्छ गाउँघरका सबै मिलेर पालैपालो काम गर्ने गरेको गिरीले बताइन् ।

सोही ठाउँका खडकबहादुर महरा पनि चिउरी पेल्न आएकाले पालो कुरेर बसेको बताउँछन् । पैसा तिर्नु नपर्ने जङ्गलमा त्यसै खेर गइरहेको चिउरीको दानाबाट अग्र्यानिक खाना खान पाएको उनले बताए । ‘बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ,’ उनले बताए । आफूलाई पुगेर बचेको घ्यू बिक्री गरेर आम्दानी गर्ने गरेको महराले बताए। चिउरीको घ्यू स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । चिउरीको घ्यूमा कुनै मिसावट हँुदैन आफैँले टिप्ने र पेल्ने गरेकाले शुद्ध हुने उनको भनाइ छ ।

चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । महराले भने, ‘चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।’ एक वर्षमा झण्डै तीन मुरी चिउरी टिप्ने गरेको वर्षभरिलाई पुग्ने गरेको उनले बताए । ‘यसलाई बजारमा बिक्री गर्न नलैजाने गाउँघरमै बित्रली हुने गरेको छ । घ्यू किन्न आउनेलाई रु आठ सय धार्नीमा बिक्री गर्ने गरेका छौँ,’ उनले भने । त्यहाँका सबैजसोले चिउरी टिप्ने गरेको महराले बताए । एक महिना दुःख गर्यो भने वर्षभरि खान पुग्ने चिउरी घ्यू हुन्छ, त्यसैले गाउँले सबै मिलेर बिजुला टिप्ने गरेको बताए ।