Monday, August 24

पार्टी फुटको हल्लाबारे माधव नेपाल : कागले कान लग्यो भनेर नदौडिनुस्

नेपालअखबार, बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी फुटको हल्ला निराधार भएको बताएका छन् ।

Advertisement

कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै उनले फुटको हल्ला निराधार रहेको बताए । ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसंग विलीन हुँदैन, विलिन हुन लागेको चर्चा गलत हो, बेकारको हल्ला हो’, नेपालले भने, ‘हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस् ।’

Advertisement
Advertisement

उनले पार्टी विभाजन भए पनि सामना गर्नुको विकल्प नभएको बताए । ‘चुनाव आफै माग्ने, सबै प्रकृयामा भाग लिने अनि हारेपछि गलत भयो भनेर गीत गाएर हिंड्ने ?’– नेपालले भने, ‘पार्टी फुटको कुरा हल्ला हो तर फुटेछ भने आकाशै खस्दैन, हिम्मतका साथ सामना गर्नुको विकल्प छैन ।’

Advertisement

अध्यक्ष नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीको नाम नलिई अध्यक्ष नेपालले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न आग्रह गरे ।

सरकारले अरू पार्टीलाई फुटाउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने उनले चेतावनी दिए । अध्यक्ष माधवकुमार पार्टी स्थापनाको तीन वर्षमै डेढ लाख पार्टी सदस्य बनेकाले सानो मन नबनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘धेरैले हाम्रो पार्टी गठन, त्यसपछि खेलेको भूमिकाको प्रसंशा गरेका छन्, कतिपयले हामीबाट खतरा महसुस गरेर गाली पनि गरेका छन्’, नेपालले भने, ‘एमालेको नवौं महाधिवेशनसम्म एक लाख ५ हजार मात्रै संगठित पार्टी सदस्य थिए तर हाम्रो पार्टी गठनको तीन वर्षमै डेढ लाख सदस्य पुगिसके, विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम पनि छ, त्यसैले मन खुम्च्याउनु र खिन्न हुनुपर्दैन ।’