Saturday, April 18

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् ।
राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए ।
उनले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम महत्वपूर्ण र कृषिको आधुनकीकरणसम्बन्धी बहुआयामिक कार्यक्रम हो । यस कार्यक्रमलाई सफल पार्दै हामीले नेपालमा कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्छ ।’
राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले धानको उत्पादन वृद्धि गरी दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए ।
तर माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको बताउँदै प्रधानमन्त्री ओलीले सिँचाइ सुविधा बिस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीऊ तथा मलखादको व्यवस्था, न्यूनतम समर्थन मूल्यको घोषणा जस्ता विषयलाई वर्तमान सरकारले जोड दिएको बताए ।
प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *