Thursday, July 30

झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि

नेपालअखबार,झापा ।  झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ। प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन्। आज दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने। हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए। मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति गरायो।

Advertisement

वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन। तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन्। जङ्गल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्षित हुने समाधानका ठोस उपाय निकाल्न सकिएको छैन।

Advertisement
Advertisement

“मानिसहरु आ–आफ्नो काम धन्धामा व्यस्त थिए”, भद्रपुर–९ मिलचोकका दीपेन्द्र कटुवाल भन्छन्, “हात्ती आयो, हात्ती आयो भनेर हल्ला चल्यो। हेर्न जाँदा घर नजिकैको धानखेतमा हात्ती चरिरहेको रहेछ।” नुनिया र बासमती धानको बाला भर्खर निस्किएको थियो। त्यही धान खाएर हात्ती निचाझोडा जङ्गलतिर गएको उनले बताए।

Advertisement

झापामा एक दर्जन बढी हात्तीले स्थानीय जङ्गलमा आश्रय लिँदै आएको वन कार्यालयले जनाएको छ। जिल्लाको दक्षिणस्थित जलथल जङ्गल, मध्यभागस्थित निचाझोडा जङ्गल र उत्तरतिरको चुरेभावर जङ्गलमा हात्ती बस्ने गर्छन्।

उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती र रैथाने हात्तीबाट जिल्लावासी पिरोलिएका छन्। १५ स्थानीय तहमा  हात्तीले नडुलेको कुनै वडा छैन। हात्तीको आक्रमणमा मानिसको मृत्यु नभएको कुनै स्थानीय तह जिल्लामा बाँकी छैन।

प्रायः जङ्गली हात्तीहरु दिउँसो जङ्गलभित्र लुक्ने र राति भएपछि आहाराका लागि गाउँ पस्ने गर्छन्। तर, अब हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेको र दिउँसो पनि चरनमा हिँड्न थालेको हुनसक्ने पर्यावरण संरक्षण अभियन्ता देवेन्द्र खरेल बताउँछन्।

“हरेक दिन दुई केजीसम्म आहारा नखाए हात्तीको पेट भरिँदैन”, चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेल भन्छन्, “जङ्गलमा उसका लागि केही पनि खानेकुरा बाँकी छैन। राति गाउँ पस्दा पेट नअघाएपछि दिउँसो गाउँ पस्नु उसको बाध्यता हुनसक्छ।”

जनावरहरुले पनि मानिसले जस्तै अस्तित्व रक्षाका लागि आफ्ना आनीबानी बदल्ने उनी बताउँछन्। जङ्गलमा मात्र डुल्ने बाँदरहरु अचेल राजमार्ग छेउछाउ मानिसले गाडीबाट फ्याँक्ने खानेकुराको पर्खाइमा बसिरहेका भेटिन्छन्। कागलगायत चराहरु मानिसले खाएर फ्याँक्ने खाद्यान्नमा निर्भर भइसकेको तथ्यलाई उनीहरुको आनीबानी परिवर्तनका रुपमा लिनुपर्ने खरेल बताउँछन्।

जङ्गलभित्र पेटभरि खान पाउने हो भने जङ्गली हात्ती गाउँ नपस्ने खरेल बताउँछन्। जङ्गल फँडानी र जङ्गलभित्र पर्यटकीय पूर्वाधारका नाममा भएका गतिविधिले हात्तीलाई जङ्गलमा शान्तले बस्ने वातावरण नभएको उनको विश्लेषण छ।