Friday, July 31

२ दशकदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

नेपालअखबार,भजनी (कैलाली) । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गामा आएर बसे ।

Advertisement

सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर टीकापुर झरेको उनी बताउँछन् । तर, टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने उनी टीकापुर झरेपछि अछाम फर्किएनन् ।

Advertisement
Advertisement

‘अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्वासी’, उनले भने, ‘१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ । आशा गर्दागर्दै मर्ने बेला भइसक्यो ।’

Advertisement

अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुग्नुभएका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसके । उनी भन्छन्, ‘अब त मलाई त्यो जग्गाको आशा पनि छैन । २० वर्ष जग्गाको आशामा बित्यो ।’

२० वर्षदेखि टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर शैक्षिक गुठीको नाममा रहेको सयौं बिघा जग्गा सुकुम्बासी मुक्तकमैयाको अतिक्रमणमा छ । उक्त जग्गा खाली गराउन क्याम्पसले पटक–पटक पहल गर्दा पनि राजनीतिक संरक्षणमा बसेका मुक्तकमैया सुकुम्बासीलाई सहजै स्थानान्तरण गर्न सकिने अवस्था छैन ।

यस क्षेत्रमा नौ वटा शिविर छन् । शिविरमा पाँच हजार घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँ करिब २० हजार जनसंख्या रहेको अनुमान छ । यहाँ मुक्तकमैया सुकुम्वासी मात्रै नभइ तत्कालीन टीकापुर विकास समितिका कर्मचारी पनि उचित व्यवस्थापनको आशामा यहीँ बसोबास गर्दै आएका छन् ।

‘मैले विकास समितिमार्फत आठ वर्ष कमैया काम गरेँ । त्यो बेला उचित बसोबाससहित कम्तीमा एक बिघा जग्गा दिनेसम्म कुरा थियो’, भूपु कमैया शिविरमा बस्दै आएका घनश्याम चौधरीले भने, ‘आज न विकास समितिको जागिर छ, न खान बस्नलाई बास गाँस ।’

भूपु कमैया शिविरमा बस्दै आएका कुलुराम चौधरी ६८ वर्षको पुगे । जीवनको ऊर्जावान समय टीकापुर विकास समितिमा बिताउनु भएका कुलुराम अहिले शिविरमै बस्छन् । उनी अहिले अरुकै सहारामा छन् ।

टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै मुद्दा दायर गरेको छ । यहाँका नागरिक राजनीतिक रुपमा प्रयोग हुने गरेका छन् । विभिन्न राजनीतिक दलको सभा समारोहमा भीड चाहियो भने शिविरकै नागरिक लैजाने गरिन्छ ।

‘जहाँबाट आश्वासन आउँछ, त्यहाँ आशा पनि हुन्छ । हिजो शिविर बस्दा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका राजनीतिक दलले आज जग्गा दिने कुरा गर्छन् कि भनेर सबैका सभामा पुग्ने गरेका छौँ’, विशालनगर शिविरमा बस्दै आएकी सुनिता चौधरी भन्छिन्, ‘आश्वासन आज पनि त्यही छ । जग्गा पाउनुपर्छ र पाइन्छ भन्ने । कहिले पाइने हो भन्ने टुङ्गो छैन ।’