Thursday, July 16

रविको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्चमा पेसी चढ्यो

नेपालअखबार,काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

Advertisement

न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेसी रहेको छ। युवराज सफलले महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Advertisement
Advertisement

२०७९ चैत २० गते दायर भएको उक्त रिटमा दोस्रो सुनुवाइका लागि पेसी तोकिएको हो । उक्त मुद्दा ३० नम्बरमा पेसी रहेकाले सुनुवाइको पालो पाउने सम्भावना भने न्यून  रहेको छ।

Advertisement

यसअघि सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ। २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । दुवै आदेश संयोगवश हरि फुयाँलको इजलासले गरेको हो ।  अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते  लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने  निर्णय गरेका थिए ।

सफलले  महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

हाल लामिछाने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सहकारी ठगीमा बयान दिइरहेका छन् । उनलाई पक्राउ गरेर पोखरामा बयान गराइएको थियो । पोखरापछि उनलाई काठमाडौँ  ल्याइएको छ।

आज बयान सकिए पोखरा नै फर्काउने तयारी भइरहँदा सर्वोच्चमा पनि राहदानीको विवाद सम्बन्धी रिटको पेसी परेको हो ।