Sunday, August 23

बाढीको वितण्डापछि यसरी जुर्मुराउँदैछन् बेथानचोकका किसान

नेपालअखबार,धुलिखेल। यत्रतत्र छरिएका ढुंगा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ। बेथानचोकका किसान ती जरा (झ्यास) र ढुंगा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन्।

Advertisement

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन्। बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए। तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ।

Advertisement
Advertisement

बर्खामा बाढी आएर बगाउलाझैं हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका नागरिक बताउँछन्। बाढीपहिरोबाट क्षति पुगेको बेथानचोकमा बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताए। आफैले श्रम गरेर क्षतिग्रस्त बारी बनाइरहेको भए पनि बाढी नियन्त्रण र खानेपानीको व्यवस्थापन गरिदिए धेरै सहज हुने उनको भनाइ छ। बाढीले त्यतिखेर लगाएको मकै बाली सबै बगाएर सखाप बनाएको थियो।

Advertisement

विशेषगरी नगदे बालीका रूपमा आलुखेती गरेर आम्दानी गर्दै आएका बेथानचोकका किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान पुर्‍याएको अर्का स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले बताए। माघमा लगाएको आलु जेठमा खनेर बेच्ने गरेका यहाँका किसानलाई अहिले आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको छ। डोजर लगाएर पनि सफा गर्न नसक्ने अवस्थामा रहेका बारीलाई मलिलो बनाएर जीवन गुजार्नुपरेको उनले पीडा सुनाए।

बारीमा भरिएका ढुङ्गा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ। कतिपय त गाडीको सहायताले अरू ठाउँमा लगेर थुपार्ने गरिरहेका छन्। स्थानीय रुपा भण्डारीले खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति पुर्याएपछि झन् समस्यामा परेको बताए। जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प नभएको उनले सुनाए।

भएको सम्पत्तिका नाममा रहेको बारी र घर बाढीले पुरेर बगर बनाएपछि समस्या झेल्दै आउनुभएका अर्का किसान सीता तिमल्सिनाले छाडेर जाने ठाउँ अन्त कतै नभएपछि डोजर लगाएरै भए पनि बारी सम्याएर खेती गर्ने तरखर गरेको बताए।
‘जीवन निर्वाहका लागि भएको सम्पत्ति संरक्षण गरेर खेती कमाइ त गर्नैपर्‍यो। उनले पीडा सुनाउँदै भने, ‘अहिलेसम्म राहत कतैबाट पाएकी छैन।’

बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन्। सो वडामा मात्रै बाढीले ४९ घरमा पूर्ण क्षति गरेको थियो। बाढीपहिरोबाट समस्या झेल्दै आएका यहाँका नागरिकले समय बितेसँगै आफ्नै बलबुतामा भएको पाखोबारी खनजोत गर्दै जीवन गुजारा गर्ने तरखर गरेका छन्।

रोशी खोलाको नौ किलोमिटर सिमांकन सकियो

यसैबीच असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौती खोलाको सिमांकन तथा व्यक्तिको जमिन एकीनकार्यअन्तर्गत रोशी खोलाको सिमांकनकार्य सकिएको छ। दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमांकन सकिएको हो।

बाढीपहिरोले खोलाको सिमांकनसँगै व्यक्तिको घर तथा जमिनको स्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा कार्य सुरु गरेका थिए। बाढीपहिरोबाट भएको क्षतिको मूल्यांकनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो। भुमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सिमांकन सकिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले बताए।

अधिकृत भुुसालका अनुसार खोलाको सिमांकन सकेर स्थानीयलाई आह्वान गरिएको निवेदनका आधारमा व्यक्तिका जग्गाका कित्ता पुनःस्थापनाकार्य भइरहेको छ। पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘लेआउट’ सहितको कार्य प्रारम्भ गरिएको हो। तीन कार्यालयका टोलीले डिजीपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको अधिकृत भुसालले बताए। उनका अनुसार टोलीले डिजीपिएस प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ।

उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने अनुमान गरिएको छ। व्यक्तिले भोगचलन गरिरहेका जग्गाको अवस्था एकीन गर्न चुनौती भइरहेको अधिकृत भुसालले बताए। उनका अनुसार हाल ६० कित्ताको पहिचान गरिसकिएको छ। आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइने बताइएको छ। स्थानीयले भने खोला क्षेत्र र व्यक्तिगत कित्ताको पुनःस्थापना गरेर मात्र पुनर्निर्माणको काम सुरु हुनुपर्ने माग गर्दै आएका छन्।

पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो। पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घरमा आंशिक क्षति पुगेको थियो। उक्त क्षेत्रमा ११ हजार छ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ।

यसैबीच पनौती नगरले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। नगरको १६औँ सभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो।

सम्बन्धित वडाबाट अनुगमन गरी बाढीपहिरोपीडित क्षेत्रको कटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिने नगरप्रमुख रामशरण भण्डारीले भने। कर छुट निर्णय गरिएका बाढीप्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगर क्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाँडागाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन्। चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरोपीडितलाई उक्त सुविधा दिइने भएको हो।

यस्तै नगरसभामा साधारण निर्माणमुखी रोडा–ढुंगा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्तिकर बुझाइसकेकाको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ।