Tuesday, April 21

संघीयतासम्बन्धी कानुन निर्माणमा राजनीतिक नेतृत्व नै असन्तुष्ट : दाहाल

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानुन निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताएका छन् ।

सोमबार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताउँदै उनले संघीयतासम्बन्धी ऐन, कानुन निर्माणमा नेताहरू नै असन्तुष्ट रहेको बेलामा नागरिकहरूले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको दाहालले बताए ।

‘अहिले जनस्तरमा अलि बढी संघीयताप्रति नकारात्मक ओरेन्टेशन भएको हो की भन्ने अनुभूत हुन्छ । संघीयता आफैंमा गलत हो, संघीयताका सिद्धान्तहरू आफैंमा गलत छन् भन्नेतिर त म धेरै पाउँदिन,’ उनले भने, ‘संघीयता हामीले ल्यायौँ । हामीले नै संघीयता कार्यान्वयन गर्न जाँदैछौँ । कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहरू मुख्यतः ऐन, कानुन निर्माणको सवालमा हामी आफैँ कहीँ न कहीँ असन्तुष्ट छाैँ ।’

संघीयताका सिद्धान्तहरू आफैंमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको उनको भनाइ थियो । नेतृत्वले जिम्मा लिएका कुराहरू समयमै नागरिकस्तरमा पुर्‍याउँदा नै संघीयता सफल हुने उनको भनाइ थियो ।

‘ जनस्तरबाट थोरै असन्तुष्टि आउने कुरालाई संघीयता गलत भएको हुनाले आएको होइन, हामीले जो जिम्मा लिएका छौँ, समयमै पुर्‍याउन सकेनाँै की ? भनेर हामीतिर फर्किनुपर्ने हो की ?,’ उनले प्रश्न गरे ।