Saturday, May 9

बझाङका पत्रकार ललित सिंहमाथि चक्कु प्रहार

नेपालअखबार,काठमाडौं। नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर चक्कु प्रहार भएको छ ।

सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका-१० स्थित चैनपुरमा रहेको देवीस्थान होटलमा खाना खाएर कोठा फर्कने क्रममा उनीमाथि चक्क प्रहार भएको हो ।

Advertisement

पत्रकार सिंहका अनुसार आफू खाना खाएर कोठा फर्कने क्रममा आफूलाई बोलाएर केही कुरा गर्नु छ भन्दै मस्टा गाउँपालिका-४ का विनोद कठायतको समूहले होटलमै चक्क प्रहार गरेका हुन् ।

उनले भोलि कुरा गरौंला भन्दा पनि जबर्जस्ती अपहरण शैलीमा कोठामा लगेर चुकुल लगाएर अन्धाधुन्ध रुपमा चक्कु प्रहार र कुटपिट गरेको बताएका छन् । चक्कु प्रहार र कुटपिटबाट पत्रकार सिंह घाइते भएका छन् भने उनको निधारमा ३ वटा टाँका लगाइएको छ ।

पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘…जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रूपमा लिएको छ। पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ। ‘

साथै पत्रकारको सुरक्षामा गम्भीर हुन र यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न पनि पत्रकार महासंघले माग गरेको छ ।

यता, पत्रकार सिंहमाथि कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

हेर्नुहोस् पत्रकार महासंघको विज्ञप्ति :