Friday, July 31

पुरुषसरह ज्याला नपाएपछि आफै ठेकेदार बनेकी पार्वती

नेपालअखबार,कञ्चनपुर। पहिला दिनभरि मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रुएक हजार आम्दानी गर्न थालेकी छन्।

Advertisement

घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्।

Advertisement
Advertisement

‘दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफै मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ,’ पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन्।

Advertisement

‘सुरूमा मजदुरी गर्थे दिनको पाँच सय मात्रै ज्याला पाउँथे। अहिले आफै घर निर्माणको ठेक्का लिन थालेकी छु,’ डगौराले भनिन्, ‘अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक एक हजार आम्दानी हुन्छ।’ राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उनको भनाइ छ।

‘मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफै मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ,’ उनले भनिन्, ‘मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु। आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन।’

पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसक्नुभएको छ। एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उनको भनाइ छ।

‘अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ,’ उनले भनिन्, ‘पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो।’

दृढ इच्छा शक्ति धैर्य र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने डगौराको भनाइ छ। ‘यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ,’ उनले भनिन्, ‘यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफै घर निर्माणको ठेक्का लिन थालेकी हुँ,’ अहिले उनले अरू महिलालाई रोजगारी दिएको बताइन्।