Friday, July 10

गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली

नेपालअखबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिवेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता जनाएका छन्  । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग गएराति  भएको भेटमा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Advertisement

उक्त अवसरमा अध्यक्ष डा.बद्री केसीले यसअघिका भेटमा संसदमा हिउँदे अधिवेशन सुरु भएपछि आफ्ना मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले जारी अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, एनआरएन एक्ट सम्बन्धी विधेयक पास गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत अनुरोध गरे ।  जवाफमा प्रधानमन्त्री आफूले प्रतिबद्धता अनुसार नै पहल भन्दै संविधानतः प्राप्त गर्ने सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका बारेमा सरकारले उचित निकास दिने उल्लेख गरे ।

Advertisement
Advertisement

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले निर्वाचन पद्धतिबाट निर्वाचित भएर आएको टिम नै वैधानिक रहेको कुरामा कसैका दुई मत हुन नसक्ने कुरा समेत व्यक्त गर्दै संघको हालको कार्यसमितिको वैधानिकतामा कुनै प्रश्न नरहेको कुरा समेत व्यक्त गरे ।

Advertisement

अध्यक्ष डा.केसीले सरकारले हाल रुसमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति (नवीकरण) लगायतका अति आवश्यक काममा लगाएको रोकले ठुलो समस्या सिर्जना भएकोले उक्त पुनः श्रम स्वीकृतिको प्रक्रियालाई समेत यथाशीघ्र खुला गर्नका लागि सहजीकरण गरिदिनका लागि प्रधानमन्त्री ओलीसँग अनुरोध गरेका छन् । साथै उनले संघभित्रको विविध विषयमा जानकारी गराएका थिए ।