Monday, July 6

९६ वर्षमा तुलसीदेवीले पाइन् नागरिकता

नेपालअखबार,बझाङ। वडाभरिकै पाको मान्छे। वृद्धावस्थामा पनि माटोसँगको सामीप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको। यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छन्। यो उनको  बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो।

Advertisement

‘घरभित्रै बसिरहन मन मान्दैन,’  उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ। त्यसपछि कुटो बोकेर गइहाल्छु।’

Advertisement
Advertisement

थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन्।
‘गाउँमा बालीनालीको बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्,’ तुलसीले भनिन्।

Advertisement

तर यो उमेर बितिसक्दा पनि उहाँलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन। उनलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरिन्।

थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताइन्। उनले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताइन्।

बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मनुभएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो। विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजको मृत्यु भएपछि उनी एकल भएकी थिइन्।

सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो।

‘मेरा लागि त यही संसार हो,’ उनले भनिन्, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन। यही संसार आँखी झ्यालबाट हेरिरहन्छु। त्यो पनि पूरै घुमेको छैन।’