Friday, July 10

प्रधानमन्त्री ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप:अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् ।

Advertisement

शुक्रवार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानुन र विधिसँग कुनै मतलब नभएको आरोप लगाए ।

Advertisement
Advertisement

संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो नभएको भन्दै विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको जिकिर गरे ।

Advertisement

‘अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ । र त्यो कुराप्रति उहाँ गौरवबोध गर्नुहुन्छ । उहाँलाई संविधानसँग मतलब छैन, कानुनसँग मतलब छैन, विधिसँग मतलब छैन र व्यापक छलफल तथा परामर्शसँग पनि कुनै मतलब छैन,’ नेपालले भने ।

संसदीय समितिमा विचाराधिन विधेयक फिर्ता समेत नलिई सरकारले अध्यादेश ल्याउन नपाउने उनको भनाइ थियो ।

‘पहिले संविधानमा हुँदै नभएको प्रावधानलाई प्रयोग गरेर उहाँले प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो भएको छैन । उहाँलाई मन लाग्यो भंग गरिदियो । अदालतले त्यो बेठिक भन्न थाल्यो । त्यो पनि उहाँले टेर्नु भएन,’ नेपालले भने, ‘जनमानसले त्यसलाई गलत ठानेर आन्दोलन गर्‍यो फेरि उहाँले दोस्रो पटक विघटन गर्नुभयो । यस्तो किसिमको पृष्ठभूमि बोेकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो गरिएको होला भन्ने आशा गर्न सकिदैन । कहिलेकाँही शंकाको लाभ लिन सकिन्छ । तर यो सरकार बनाउँदा पनि त्यस्तै भयो । नियतमै खराब भएको हो वा राम्रो नियतले ल्याएको हो भन्ने कुरा तथ्यले जे भन्छ त्यही स्विीकार गर्नुपर्छ ।’

भूमिसम्बन्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरूलाई पोस्नको लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप उनको छ ।