Friday, July 10

गठबन्धन गर्दा साना पार्टी संसदमा रहन्छन् र तिनले अस्थिरता ल्याउँछन्: पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताए।

Advertisement

एमाले पेसागत विशेष जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताए।

Advertisement
Advertisement

‘गठबन्धन गर्दा साना पार्टी संसदमा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ। त्यसको अन्त्य हुनुपर्दछ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौं,’ महासचिव पोखरेलले भने।

Advertisement

उनले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको बताए। ‘२०७४ सालमा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन । कमजोर धरातलमा गरिएको एमाले र नेकपा (माओवादी केन्द्र) को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो,’ महासचिव पोखरेलले भने।

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए।

‘मुलुकलाई अगाडि बढाउने कोसिस भइरहेको छ। अब हाम्रो समय अलमलमा बित्दैन। हाल देखिएका समस्या समाधानका लागि काम भइरहेको छ। नयाँ सरकार बनेपछि आर्थिक सुधारको प्रक्रियामा केही प्रगति भएको छ,’ महासचिव पोखरेलको भनाइ थियो, ‘लगानीको वातावरण तयार भएको छ। ब्याजदर घटेको छ। पुँजीगत खर्च वृद्धि भएको छ । पहिलेभन्दा कर उठ्न थालेको छ। मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ।’