Friday, July 10

ट्रम्पले क्यानडा,चीन र मेक्सिकोसँग सुरू गरे व्यापार युद्ध

नेपालअखबार,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोका सबै उत्पादनमा मंगलबारदेखि लागू हुनेगरी भन्सार महसुल लगाएर व्यापार युद्ध सुरू गरेका छन्।

Advertisement

ट्रम्पले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्य रातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाउने भएका छन्।

Advertisement
Advertisement

त्यस्तै, चीनको उत्पादनमा पनि मंगलबारदेखि नै लागू हुनेगरी १० प्रतिशत थप भन्सार महसुल लगाउने भएका छन्।

Advertisement

चीन र क्यानडाले जबाफमा अमेरिकी उत्पादनमा पनि भन्सार लगाएका छन्। मेक्सिकोले पनि प्रतिकारमा त्यस्तै कदम चाल्ने अपेक्षा गरिएको छ।

यसरी भन्सार संसारको सबैभन्दा सुन्दर शब्द भन्ने ट्रम्पले कार्यभार सम्हालेको ६ हप्ता नबित्दै चीन, क्यानडा र मेक्सिकोसँग व्यापार युद्ध सुरू गरेका छन्।

ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार महसुल लगाएका थिए। बर्सेनि दसौं हजार अमेरिकीको ज्यान लिने फेन्टनिल बनाउन चाहिने कच्चा रसायन लागुपदार्थको पैठारी गर्ने गिरोहलाई चीनले बेचेको आरोप लगाएर एक महिनाअघि थप १० प्रतिशत भन्सार लगाएका थिए। तर फेन्टनिल बनाउन चाहिने कच्चा रसायनको निर्यात रोक्न चीनले यसबीचमा केही नगरेको भन्दै मंगलबारदेखि लागू हुनेगरी १० प्रतिशत थप भन्सार महसुल लगाउने भएका हुन्। दुई पटकको जोडेर ट्रम्पले चीनबाट आउने वस्तुमा २० प्रतिशत भन्सार बढाएका हुन्।

ट्रम्पले मंगलबारदेखि लागू हुने गरी १० प्रतिशत थप भन्सार महसुल लगाउने भएपछि चीनले जबाफी कदम चालिसकेको छ।

चीनले मार्च १० देखि लागु हुनेगरी लगभग २१ अर्ब डलर मूल्यका अमेरिकी कृषि र खाद्य उत्पादनहरूमा भन्सार बढाउने घोषणा तुरून्तै गर्‍यो।

परराष्ट्र मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै चीन कहिल्यै पनि दादागिरी वा जबर्जस्तीसामु झुकेको छैन भनेको छ। मन्त्रालयले चीनमाथि चरम दबाब दिन खोज्नु गलत आँकलन र भूल भएको पनि बतायो।

चीनले अमेरिकी कुखुरा, गहुँ, मकै र कपासमा थप १५ प्रतिशत भन्सार लगायो। त्यस्तै अमेरिकी भटमास, जुनेलो, सुँगुरको मासु, गाईको मासु, फलफूल-तरकारी तथा दुग्ध आयातमा थप १० प्रतिशत भन्सार लगाउने छ।

त्यस्तै, चीनले राष्ट्रिय सुरक्षाको आधारमा २५ अमेरिकी कम्पनीहरूमाथि निर्यात र लगानी प्रतिबन्ध पनि लगायो। तर ती २५ कम्पनीमध्ये कुनै पनि चर्चित कम्पनी भने छैनन्।

एक महिना अघि ट्रम्पले चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार बढाएको बेलामा भने चिनियाँ बजार नियामकले अमेरिकी कम्पनी गुगलविरूद्ध प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भनेर जाँच सुरू गरेको थियो। चीनमा गुगल ब्लक गरिएको छ। त्यो कदमले भने उसलाई चिनियाँ कम्पनीहरूसँग कारोबार गर्न पनि अप्ठ्यारो पारेको थियो।

त्यतिबेला अमेरिकाबाट आयात हुने कोइला र तरल प्राकृतिक ग्यास उत्पादनहरूमा १५ प्रतिशत भन्सार अनि कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत चीनले भन्सार लगाएको थियो।

ट्रम्पले क्यानडाका सबै उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि चरणबद्ध रूपमा झन्डै एक खर्ब डलर मूल्यका अमेरिकी उत्पादनमा भन्सार लगाउने भएका छन्।

क्यानडाले अमेरिकाबाट आयातित सामानहरूमा दुई चरणमा २५ प्रतिशत शुल्क लगाउने योजना बनाएको छ। पहिलो चरणमा तत्कालै ट्रम्पको रिपब्लिकन पार्टीको पकड भएका राज्यहरूमा उत्पादित २० अर्ब डलर मूल्यका रक्सी, लुगा र घरायसी उपकरणहरूलाई लक्षित गरिने छ। लगभग तीन हप्ता पछि लागू हुने दोस्रो चरणमा करिब ९० अर्ब डलर मूल्यका सामानहरूलाई लक्षित गर्ने भनेर ट्रुडोले  खुलाएका छन्।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले पनि मंगलबार नै जबाफी कदमको घोषणा गर्ने अपेक्षा गरिएको छ।

यसअघि पनि ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका थिए। क्यानडाबाट आउने कच्चा तेलमा भने उनले १० प्रतिशत मात्रै भन्सार लगाउने भनेका थिए।

तर त्यो लागू हुने बेलामा अन्तिम क्षणमा ३० दिनका लागि रोकेको थिए। ह्वाइट हाउसमा सोमबार बोल्दै एक महिनाअघि जस्तै यो पटक पनि अन्तिम मिनेटमा भन्सार रोक्ने कुनै सम्भावना नरहेको उनले जोड दिएका छन्।

उनले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले मेक्सिको र क्यानडालाई भन्सार लगाउने भन्दै आएका छन्।

अमेरिकाका दुई प्रमुख व्यापार साझेदार अनि उत्तर र दक्षिणका छिमेकीले उनको सीमा सुरक्षा र लागुऔषध तस्करीबारे चिन्ताहरूको सम्बोधन गर्ने भनेपछि एक महिनाअघि अन्त्यमा उनले आफ्नो कदम ३० दिनका लागि रोकेका थिए।

यसले व्यापार युद्धमा धकेलिन लागेको उत्तर अमेरिकालाई केही दिनको राहत भएको थियो। क्यानडा र मेक्सिको मात्रै नभएर अमेरिकाकै आर्थिक वृद्धिमा ठूलो असर पार्ने र मूल्यवृद्धि गराउने खतरा हालका लागि टरेको थियो।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका छिर्नबाट रोक्न १० हजार सैनिक खटाउने भनेपछि ट्रम्पले भन्सार लगाउने कदम रोकेका थिए। जबाफमा अमेरिकाले पनि मेक्सिकोमा आफ्नो शक्तिशाली हतियार जानबाट रोक्न प्रतिबद्धता जनाएको थियो।

ट्रम्पको पहिलो कार्यकालमा पनि भन्सारबाट जोगिन मेक्सिकोले अमेरिकासँगको सीमामा १५ हजार सैनिक पठाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि भन्सार महसुलमा रोक लागेको बेलामा अमेरिकी सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। आफ्नो सरकारले फेन्टनिल नियन्त्रण गर्न एक जना अधिकारी नियुक्त गर्ने र मेक्सिकोका लागुपदार्थ पैठारी गर्ने गिरोहहरूलाई आतंकवादी समूह भनेर सूचीबद्ध गर्ने पनि भनेका थिए।

एक महिनाअघि मेक्सिको र क्यानडाका उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने ट्रम्पले धम्की दिएपछि विश्व बजारमा हलचल भएको थियो। अमेरिकाकै सेयर बजारमा पनि गिरावट आएको थियो। सेयर बजारमा ओरालो लागे आफ्नो लोकप्रियतामा पनि ह्रास आउने भनेर सचेत ट्रम्पले त्यसै कारण आफ्नो कदम रोकेको मानिएको थियो।

तर उनले एक महिनापछि फेरि मेक्सिको र क्यानडाका उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने भएका हुन्।