Wednesday, July 29

आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको राष्ट्रिय व्यवसायी महासङ्घद्वारा क्षतिपूर्तिको माग

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको क्षतिपूर्ति माग गरेको छ। शुक्रवार काठमाडौँमा भएको प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट भएको क्षतिपूर्ति पाउनुपर्ने माग महासङ्घले गरेको हो।

Advertisement

आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट व्यावसायिक वातावरण र व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुन पुगेको महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए। उनले  निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायतका गतिविधिहरूबाट भएको क्षतिपूर्ति  सरकारले व्यवसायीलाई दिलाउनु पर्नेमा जोड दिए। उनले भने, ‘हरेक पटकका आन्दोलन हडताल हुँदा व्यवसायीहरू नै मारमा पर्ने गरेका छन्। यसले व्यावसायिक वातावरण बिग्रन्छ। सधैँ व्यवसायी मारमा पर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ।’

Advertisement
Advertisement

चैत्र १५ गते काठमाडौँमा भएको आन्दोलन र प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निकै दुःखद भएको महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले बताए। उनले आन्दोलन र प्रदर्शनका क्रममा सर्वसाधारणको निजी जायजेथा, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठुलो क्षति पुगेकोमा यसको क्षतिपूर्ति हुनुपर्ने महासङ्घको धारणा रहेको बताए।

Advertisement

महासङ्घले आन्दोलन र प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना प्रकट गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ।