
नेपालअखबार,काठमाडौँ । डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । भग्नावशेषबाट निकालिएका शवहरूको पहिचान गर्नै गाह्रो भइरहेको बताइएको छ । जानकारी अनुसार, एक प्रतिष्ठित नाइटक्लबको छत भत्किँदा १८४ जनाको मृत्यु भएको छ ।
यस घटनामा मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । बुधबार राति अबेर १८४ वटा शव निकालिएको थियो । उद्धार कार्य जारी रहेको बताइएको छ । डोमिनिकन रिपब्लिकको फोरेन्सिक इन्स्टिच्युट बाहिर दर्जनौँ मानिसहरू आफ्ना प्रियजनहरूको स्थिति जान्न पर्खिरहेका छन् ।
आपत्कालीन कार्य सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजले घटनास्थलमा रहेका टोलीहरूले अझै पनि पीडित र सम्भावित बाँचेकाहरूको खोजी गरिरहेको बताए । तर, मंगलबार दिउँसोदेखि कोही पनि जीवित फेला परेका छैनन् ।
‘हामी कसैलाई पनि छोड्ने छैनौँ । हाम्रो काम जारी रहनेछ ।’ उनले भने । यसअघि दिनको सुरुमा, राष्ट्रिय फोरेन्सिक प्याथोलोजी संस्थानका अधिकारीहरूले हालसम्म पहिचान गरिएका ५४ पीडितहरूको नाम पढेर सुनाएका थिए । बाँकीको पहिचान गर्ने प्रयास भइरहेको छ ।


