
नेपालअखबार, सुनसरी । नेपाली काङ्ग्रेसका भातृ संगठन नेपाल मुस्लिम संघ सुनसरीले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा सनातनीलाई कार्वाहीको माग गर्नुभएको छ । मुस्लिम समुदायलाई लक्षित गर्दै उपाध्यक्ष सनातनीले नेपाली मुस्लिमलाई सखाप पार्ने दिएको धम्कीपुर्ण अभिव्यक्तिप्रति संघले आपत्ति प्रकट गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ।
नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत गृह मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा धार्मिक सद्भाव खल्बल्याउने प्रयासप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग कार्वाहीको माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापनपत्र बुझाउदै नेमुसंघका सभापति हारुन अन्सारीले धार्मिक भावना भड्काउने, अरू धर्मप्रति घृणा फैलाउने वा आत्मसम्मानमा आघात पुर्याउने गतिविधिहरूका विरुद्ध कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। वहाँले सामाजिक सद्भाव बिगार्ने यस्ता प्रवृत्तिहरूको नियन्त्रणका लागि गृह मन्त्रालय र मातहतका निकायहरूले तत्काल कदम चाल्नुपर्ने माग गरिएको हो ।
नेपाल मुस्लिम संघ सुनसरीले नेपालको ऐतिहासिक धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको संरक्षण गर्न सबैलाई आह्वानसमेत गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्रालयलाई पठाउने बताउदै संविधान विरुद्धको गतिविधि गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कार्वाही गरिने बताउनुभयो । वहाँले सामाजिक एकता र शान्ति भंग गर्ने कुनै पनि कार्यलाई राज्यले सहन नहुने भएकाले यस्ता गतिविधिमा संलग्न जोकोहीमाथि सम्बन्धित कानुन अनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो। संविधानको संरक्षण र सामाजिक सद्भाव कायम राख्न प्रशासन सतर्क रहेको बताउनुभयो ।
विज्ञप्तिमा” नेपाल प्राज्ञीक मञ्चको आयोजना भएको कार्यक्रममा हिन्दु सम्राट सेना नेपाल नाम गरेको संगठनका केन्द्रिय उपाध्यक्ष कृष्णा यादवले बोल्ने क्रममा मुस्लिम समुदायलाई लक्षित गरि “वर्मा भन्ने मुलुकमा पाँच लाख मारिए अब नेपालमा कोही मुस्लिम पनि बाँकी नराख्ने” भनी दिएको अभिव्यक्ति माथी नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति सुनसरीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मुलुकमा धार्मिक द्वन्द निम्त्याउने, सहिष्णुता माथि प्रहार गर्ने, भाइचारा र मेलमिलाप वातावरणलाई खल्बल्याई समुदाय बीच दंगा गराउने उद्देश्य प्रष्ट छ । यस्ता खाले व्यक्ति र संस्थालाई यथाशीघ्र कानुनको दायरामा ल्याई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत सम्मानित गृह मन्त्रालयलाई यो ज्ञापन पत्र बुझाउँदछाैँ ।
नेपाल मुलुक सबै जात, जाती धर्म, सम्प्रदायको साँझा फुलवारी हो। यसमा हामी सबै धर्म संप्रदायका मानिसहरु धार्मिक सहिष्णुताका साथ सदियौं देखि बस्दै आएका छौ । शान्ति पुर्वक सुमधुर तथा मित्रताका साथ रहदै आएको अवस्थालाई कोही कसैले पनि खल्ल पुर्याउन कदापी पाउदैन । त्यसतो द्वेष फैलाउन घृणित कार्यलाई कानुनले कुनै पनि हालतमा छुट दिईने छैन ।
नेपालमा हामि नेपाली मुस्लिम समुदायहरु सबै जातजाती धर्मावलम्बी सित एकताका साथ भाईचारा युक्त रहदै बस्दै आएकालाई दखल पुर्याउने कुतषित भावनाले हिन्दु, मुस्लिम एकतालाई बिच्छेद पार्ने मनश्याले सर्लाही जिल्ला मलंगवा नगरपालिका-६ खुटौना निवासी हिन्दु सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष तथा कथित सम्राट सेनाका अगुवा भन्दै नेपालमा रहेका मुस्लिम समुदाय प्रति लक्षित गरी म्यानमार देशका मुस्लिमहरुलाई नरसंहार गरे झै विस्थापित पारे जस्तै नेपालमा पनि नेपाली मुस्लिमहरुलाई नेपालबाटै सखाप पार्ने खुलेआम चेतावनी दिने तथा धार्मिक स्थलहरु माथि प्रहार गर्ने जस्ता मुलुकमा हिन्दु मुस्लिम बिचको सुमधुर एकता भाईचाराको भावनालाई अघात पुर्याउने तथा देश सम्प्रदायिक्ता जस्ता धार्मिक विभेदको आगोमा होमिने गरी गरेको र अनरगल भिडियो संदेश प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
यस प्रकार धार्मिक सहिष्णुतालाई प्रभावित गर्न खोज्ने कुत्तवलाई कानुनी दायरामा ल्याउनु नै पर्दछ भन्ने मुलुक प्रतिको आत्मियताको भावनाले यो ध्यानकर्षण सहितको ज्ञापन पत्र दिन बाध्य भएका छौ । यस प्रकारको शान्तिमा खल्लबलाउने तथाकथित आफुलाई सम्राट सेनाको केन्द्रिय उपाध्क्ष भनाउदो कृष्ण यादवलाई नेपालको संविधान र संवैधानिक कानुन अनुसार अभिलम्व कार्वाही गरियोस भन्ने माँग गर्दछौं । अन्यथा समय छदै सुंचित कदम चालिएन भने मुलुक संप्रदायिक्ताको आगोमा बल्झिन सक्ने समेत अवगत गराउदछौँ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएकाले समुदाय,धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता प्रवर्धन गर्दै राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुयाउँन हार्दिक आग्रह गर्दछाैँ ।
मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी तथा सामाजिक सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन पनि आग्रह गर्दछाैँ।” उल्लेख गरिएको छ ।

