Monday, July 27

बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध

नेपालअखबार,काठमाडौँ ।  बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ।

Advertisement

बंगलादेशको अन्तरिम सरकारले आतंकवादविरूद्धको ऐनअनुसार अवामी लिगलाई कुनै पनि प्रकारको गतिविधि गर्न रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement
Advertisement

शनिबार सरकारले जारी गरेको वक्तव्यअनुसार उक्त पार्टी र नेतृत्व विविरूद्धको मुद्दाको छिनोफानो नहुञ्जेलसम्मका प्रतिबन्ध फुकुवा हुने छैन।

Advertisement

गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा कयौं प्रदर्शनकारी मारिएको घटनाको मुद्दा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) मा विचाराधीन छ।

यसअघि अवामी लिगको भ्रातृ संगठन बंगलादेश छत्र लिगलाई पनि गत अक्टोबरमा ‘आतंकवादी संगठन’ भनेर प्रतिबन्ध लगाएको थियो। विद्यार्थी आन्दोलनमा छत्र लिगले विद्यार्थीहरूमाथि हिंसात्मक आक्रमण गरेको आरोप लगाएको थियो।

पछिल्लो समय बंगलादेशको राजधानी ढाकामा अवामी लिगलाई प्रतिबन्ध लगाउनुपर्ने मागसहित प्रदर्शन भएको थियो। अहिले हालै अन्तरिम सरकार गठन प्रक्रियामा सहभागी विद्यार्थीहरूले नेशनल सिटिजन पार्टी (एनसिपी) खोलेका छन्। एनसिपी र जमात-इ-इस्लामी पार्टीले पनि उक्त प्रदर्शनलाई समर्थन गरेको थियो।

सरकारले अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) को ऐन पनि संशोधन गरेको छ। जसले व्यक्ति मात्रै नभई राजनीतिक पार्टी र संस्थाविरूद्ध पनि मुद्दा चलाउन मिल्ने बनाएको छ।

अवामी लिगलाई प्रतिबन्ध लगाएपछि आधिकारिक फेसबुक पेजमार्फत,‘गैरकानुनी सरकारका सबै निर्णय गैरकानुनी’ भनेर लेखेको छ।

गत वर्ष जुलाइमा प्रदर्शन हुँदा हसिनाले देश छाडेर भारत पुगेकी थिइन्। १५ वर्षसम्म सत्ता चलाएकी उनी अहिले भारतको शरणमा छिन्।

तीन हप्तासम्म चलेको विद्यार्थी आन्दोलनमा कम्तिमा १४०० जना मारिएको संयुक्त राष्ट्र संघ मानव अधिकार कार्यालयले गत फेब्रुअरीमा निकालेको रिपोर्टमा उल्लेख थियो।

हसिना र उक्त पार्टीका शीर्ष नेताहरूमाथि हत्या र अन्य कसुर गरेको आरोप छ।

हसिना निर्वासनमा गएपछि बंगलादेशमा नोबल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो। यसबीच गत फेब्रुअरीमा नयाँ पार्टी एनसिपी गठन भएको थियो।

अन्तरिम सरकार प्रमुख युनुसले भने आउँदो डिसेम्बर वा २०२६को सुरूवातमै आम निर्वाचन गर्ने बताउँदै आएका छन्।