Monday, July 27

ट्रम्पका कारण चिढिएका वैज्ञानिक अमेरिकाबाट फर्काउन चीनले चाल्यो कदम

नेपालअखबार,काठमाडौं । चीनले अमेरिका छोड्ने विचार गरिरहेका चिनियाँ मूलका शोधकर्ताहरूलाई चीन फर्काउने प्रयास तीव्र पारको छ।

Advertisement

अमेरिकामा रहेका चिनियाँ मूलका वैज्ञानिक र अन्य शोधकर्ताहरूलाई नियुक्ति दिन चीनले भर्ती कार्यक्रम नै शुरू गर्न लागेको भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालदेखि नै चीनका लागि जासूसी गर्न सक्ने भनेर अमेरिकामा चिनियाँ नागरिकमाथि सरकारले निगरानी बढाएको छ। चिनियाँ नागरिक मात्रै नभएर चिनियाँ मूलका अमेरिकी नागरिकको समेत यस्तो निगरानी बढाइएको छ। त्यस्तो माहोलमा चीन फर्किने इच्छा नभएका चिनियाँ मूलका वैज्ञानिकहरू समेत आजित भएका समाचारहरू आइरहेका छन्।

Advertisement

दोस्रो कार्यकालमा उदारवादी राजनीति गरेको आरोप लगाउँदै ट्रम्पले हार्वर्ड, कोलम्बिया लगायत उच्च कोटिका विश्वविद्यालयमाथि धावा बोलेका छन्। त्यस्ता विश्वविद्यालयलाई संघीय सरकारले दिने अर्बौं डलर रोकेका छन्।

उनले विश्वविद्यालयमा मात्रै नभएर विज्ञानमाथि नै हमला गरेका छन्। संघीय खर्च घटाउने र समावेशी नीति अपनाएको भन्दै धेरै महत्वपूर्ण वैज्ञानिक अनुसन्धानका लागि दिइएको पैसा पनि कटाएका छन्।

यस्तोमा चिनियाँ मूलका मात्रै नभएर अमेरिकी र अरू देशका आप्रवासी वैज्ञानिक पनि अमेरिकामा बस्न नसक्ने वातावरण बन्दै गइरहेको छ। त्यसरी प्राज्ञिक स्वतन्त्रता र अनुसन्धानको वातावरण बिग्रिएको भनेर बिरक्तिएका वैज्ञानिकलाई आकर्षित गर्न बेलायत, फ्रान्स, जर्मनी लगायत युरोपेली देशले पनि कदम चाल्ने चर्चा चलिरहेको छ।

यस्तोमा चीनले पनि अमेरिकामा रहेका चिनियाँ मूलका वैज्ञानिक आकर्षित गर्न कार्यक्रम ल्याउन लागेको हो।

अमेरिकामा आर्थिक र राजनीतिक चुनौतीहरूका कारण चीन फर्कने सोचमा रहेका शोधकर्तालाई देश फर्काउन  धेरै आकर्षक ‘पोस्टडक्टोरल’ पदहरू सृजना भइरहेको बेइजिङमा रहेका एक वरिष्ठ भूगर्वविदलाई उद्धृत गर्दै पोस्टले जनाएको छ। ती भूगर्वविदका अनुसार अमेरिका र चीनमा रहेका पोस्टडक्टोरल शोधकर्ताको भन्दा दोब्बर तलब प्रस्ताव गरिएको छ।

वैज्ञानिक शोध र आविष्कारमा अग्रणी रहेको अमेरिकालाई पछिल्ला केही वर्ष चीनले टक्कर दिन थालेको छ। संसारभरका अब्बल वैज्ञानिकका लागि पहिलो रोजाइमा पर्ने अमेरिकामा ट्रम्पका कारण प्राज्ञिक वातावरण बिग्रन थालेकाले अमेरिकालाई उछिन्न चीनले यस्तो कार्यक्रम शुरू गरेको हो।