Monday, July 27

रूसले युक्रेनको राजधानीमा रातभरि गर्‍यो मिसाइल र ड्रोन हमला

नेपालअखबार,काठमाडौँ ।  रूसले युक्रेनमा मिसाइल र ड्रोन हमला गरेको छ।

Advertisement

आइतबार बिहान राजधानी किभमा लक्ष्य गरेर रूसले मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement
Advertisement

रूसले प्रहार गरेको मिसाइल र ड्रोनहरू किभको हवाइ प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको छ। यद्यपि ७ जना घाइते भएको र एउटा अपार्टमेन्टमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement

शनिबार दुवै देशले युद्धबन्दी रिहा गरेपछि रूसले युक्रेनको राजधानी लक्ष्य गरेर हवाई आक्रमण गरेको हो।

बितेको चौबीस घन्टामा रूसी आक्रमणबाट युक्रेनमा १३ जनाको मृत्यु भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

पूर्वी दोनेत्स्क प्रान्तमा चार जना, दक्षिणी खेरसन र ओडेसामा पाँच जना, उत्तरी खार्किभमा चार जना रूसी हमलामा मारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनको वायुसेनाले रूसबाट १४ वटा मिसाइल र २५० वटा भन्दा बडी ड्रोन हमला भएको बताएको छ। तीमध्ये कैयौं हमला राजधानी किभतर्फ लक्षित थियो।

किभलाई लक्ष्य गरिएको ६ वटा मिसाइल र २४५ ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गरेको सिएनएनले जनाएको छ।

‘यो युक्रेनका लागि अत्यन्त कठिन रात थियो,’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा भनेका छन्।

शनिबार रातभरि भएको हमलामा १८ जना  घाइते भएको सिएनएनले जनाएको छ।

किभका मेयर विटाली क्लित्स्कोले धेरै आवासीय भवनहरू ध्वस्त भएको बताएका छन्।  उनका अनुसार राजधानी रहेको सहरमा रातभरि साइरन बजिरहेको थियो भने विस्फोटका ठूला आवाजहरू आइरहेका थिए।  आवासीय भवनहरूमा आगो बलिरहेको र सहरभरि भग्नावशेषहरू छरिएको उनले बताएका छन्।

युक्रेनका सांसद किरा रूदिकले सिएनएनसँग रातभरि विस्फोटका आवाजहरू आइरहेको र आफू भर्‍याङमुनि बसिरहेको बताएकी छन्।

‘त्यो क्षण अत्यन्त डरलाग्दो थियो। ठाउँ ठाउँमा विस्फोट भइरहेको थियो। सर्वनाश नै हुने हो कि भन्ने आभास भइरहेको थियो,’ उनले सिएनएनसँग भनेकी छन्।

रूस र युक्रेनबीच गत साता टर्कीको इस्तानबुलमा वार्ता भएको थियो। उच्चस्तरीय वार्ता नभएका कारण युद्धविरामबारे सामान्य छलफल मात्रै भएको थियो।

वार्ताको चौबीस घन्टा नबित्दै रूसले राजधानी किभमा आक्रमण गरेको थियो।

वार्ताबाट दुवै देशले एक/एक हजार युद्धबन्दी रिहा गर्ने सहमति भएको थियो।

सहमतिअनुसार शुक्रबार दुवै देशले ८ सय र शनिबार ६ सय युद्धबन्दी आदानप्रदान गरेको थियो।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लगातारको आक्रमणले रूस र भ्लादिमिर पुटिन शान्तिको पक्षमा रहनेको प्रमाणित भएको बताउँदै आएका छन्। उनले आफ्ना युरोपेली साझेदार र अमेरिकालाई मस्कोमाथि प्रतिबन्ध कसिलो बनाउन आग्रह गरेका थिए।

शुक्रबार युरोपेली संघले रूसमाथिको प्रतिबन्ध अझै कडा पार्ने बताएको छ।