Saturday, November 21

तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् ।

Advertisement

उनले सुरुआतमा ५०० रुपैयाँ लगानी गरेर एक कट्ठा जग्गामा तरकारीखेती गरेका थिए । उत्पादित तरकारी बिक्रीबाट १० हजार रुपैयाँ आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लगे ।

Advertisement
Advertisement

तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि खड्काले खेतीको क्षेत्रफल बढाउँदै लगे । अहिले उनी तीन बिघा जग्गामा विभिन्न प्रकारका तरकारी उत्पादन गर्दै आएका छन् । २०७२ सालदेखि व्यावसायिक रूपमा तरकारीखेतीमा लागेका उनले धान र गहुँखेतीको तुलनामा तरकारीखेतीबाट तीन गुणासम्म बढी फाइदा हुने भएपछि यसमै लागेको बताए ।

Advertisement

“एक कट्ठाबाट खेती सुरु गरेको थिएँ । त्यसपछि विस्तार गर्दै लगेँ । कोरोना महामारीका बेला रोजगारीका लागि भारतमा रहेका दुई छोरा पनि घर फर्किए”, खड्काले भने, “त्यसपछि हामीले मिलेर तरकारीखेतीलाई थप विस्तार गर्‍यौँ ।”

हाल तीन बिघा जग्गामा तरकारीखेती गर्दै आएका खड्काले यसबाट हुने आम्दानीले घरखर्चसँगै छोराछोरीको पढाइ खर्चसमेत धान्दै आएका छन् ।

“तरकारी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ”, उनले भने, “यसैको कमाइबाट २० लाख रुपैयाँ लगानी गरेर छोरा विदेश पठाएँ, घर पनि बनाएँ । पहिला साइकलमा तरकारी बोकेर बजार लैजान्थेँ, अहिले तीनवटा मोटरसाइकल जोडेँ । ५० प्रतिशत अनुदानमा अटोरिक्सासमेत किनेको छु ।”

खड्काको तरकारीखेतीमा दुई जनाले मासिक १५ हजार रुपैयाँ तलब पाउने गरी नियमित रोजगारी पाएका छन् । त्यस्तै, ज्यालादारीमा वर्षभरिमा करिब १०० जनाले काम पाउने गरेको उनले बताए ।

उत्पादित तरकारी बिक्री गर्न बजारको समस्या नभए पनि खुला सीमाका कारण भारतबाट आयात हुने तरकारीले उचित मूल्य पाउन कठिन भएको उनको भनाइ छ ।

“भारतबाट आउने तरकारीका कारण हामीले उत्पादन गरेको तरकारीले सोचेजस्तो मूल्य पाउँदैन”, उनले भने, “हाम्रो उत्पादन लागत बढी हुन्छ । तर भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।”

खड्काले काउली, बन्दा, ब्रोकाउली, आलु, प्याज, भण्टा र खुर्सानीलगायत तरकारी उत्पादन गर्दै आएका छन् । उनका अनुसार मौसमीभन्दा बेमौसमी तरकारीखेतीबाट बढी आम्दानी गर्न सकिन्छ ।

“सिजनमा भन्दा अफ सिजनमा तरकारी उत्पादन गर्न सके पर्याप्त आम्दानी हुन्छ”, उनले भने, “सरकारले खेतीको बिमा सुविधा उपलब्ध गराए किसानलाई थप सहज हुने थियो ।”