Saturday, September 26

पाल्पा बन्यो पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला

नेपालअखबार,पाल्पा । पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।

Advertisement

सबै स्थानीय तह तथा जिल्लास्थित सारेकारवालका बीचमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक नेत्रप्रसाद अर्यालले जिल्ला खोप समन्वय समितिका प्रमुख टंकनाथ खनाललाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको प्रमाणपत्र प्रदान गर्दै जिल्लालाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले शारीरिक र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको बताए ।

Advertisement

उनले अहिले नसर्ने रोगको समस्या दिनानुदिन बढ्दो क्रममा रहेको हुँदा खानपान र जीवनशैली सुधार गर्न आग्रह गरे ।

मन्त्री सारुले स्थानीय तहहरु र सरोकारवाला सबैले नियमित स्वास्थ्य परीक्षण गर्न र अन्य नागरिकलाई यसको पहुँच वृद्धि गर्ने खालका कार्यक्रम गर्न सुझाव दिए ।

सारुले २०७० साल फागुन १३ गते नेपालमै पहिलो पटक पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको बताए ।

मन्त्री सारुले पाल्पा जिल्ला लुम्बिनी प्रदेशमा लगातार दुई पटकसम्म प्रथम भएको  बताउँदै स्वास्थ्यमा पाल्पा जिल्ला निकै अगाडी रहेको इतिहास सधैको कायम राख्नुपर्नेमा जोड दिए ।

जिल्लाका ८१ वटै वडा र १० वटै स्थानीय तहमा ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई पूर्ण खोप दिएपछि जिल्ला पूर्णखोप सुनिश्चितता जिल्ला भएको हो ।

१६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरी जिल्लालाई पूर्णखोप सुनिश्चितता, दीगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय पालपाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए ।

जिल्ला खोप समन्वय समितिले सबै सूचक पूरा भएको अर्थात सबै वडाका उक्त उमेर समूहका बालबालिकाले पूर्ण खोप लगाए नलगाएको अनुगमन र प्रमाणित गरेपछि मात्रै जिल्लालाई वडा पालिका हुँदै जिललालाई पूर्णखोप सुनिश्चितता, दिगोपना भएको जिल्लाको रुपमा घोषणा गर्ने गरिन्छ ।

घोषणा सभामा स्वास्थ्य शाखा, स्थानीय तहहरु तथा अभियानमा सहयोग पुर्‍याउनेहरुलाई सम्मान समेत गरिएको जिल्ला खोप समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताए ।