Saturday, November 15

अमेरिकी आक्रमणपछि राष्ट्रसंघका महासचिवले भने, ‘म धेरै चिन्तित छु’

नेपालअखबार,न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्।

Advertisement

उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन् , ‘आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति म धेरै चिन्तित छु। यो कदमले यस क्षेत्रमा तनाव अझ बढाउन सक्छ, जुन पहिले नै धेरै नाजुक अवस्थामा छ । यो अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि प्रत्यक्ष खतरा हो।’

Advertisement

उनले थपे, ‘यो द्वन्द्व चाँडै नियन्त्रण बाहिर जान सक्ने र नागरिक, क्षेत्र र विश्वलाई ठुलो क्षति पुग्ने डर बढ्दो छ।’

गुटेरेसले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन्। उनले लेखे, ‘यस सङ्कटको कुनै सैन्य समाधान छैन। कूटनीति नै अगाडि बढ्ने एक मात्र बाटो हो र शान्ति नै एक मात्र आशा हो।’

यता, इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणको पुष्टि गरेको छ। ‘फोर्डो आणविक स्थलको एक भागमा हवाई आक्रमण भएको थियो,’ कोम प्रान्तको विपद् व्यवस्थापनका प्रवक्ता मोर्तेजा हेदारीले तस्निम समाचार एजेन्सीलाई बताए।

यसैबिच, इस्फाहानका उप-गभर्नर अकबर सलेहीले भने, ‘नातान्ज र इस्फाहान नजिकै धेरै विस्फोटहरू सुनिएका छन्। हामीले नातान्ज र इस्फाहानमा आणविक स्थलहरू नजिकै आक्रमणहरू देख्यौँ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानमा आक्रमणको घोषणा गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यी आक्रमणहरूको बारेमा जानकारी दिएका थिए।

इजरायलले इरानमाथिका यी अमेरिकी आक्रमणहरूको सम्बन्धमा आफ्नो सहयोग पुष्टि गरेको छ।