
नेपालअखबार,काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश, थाने कश्मिरा रोड स्थायी वतन भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौली रहेका छन् ।
उनलाई साइबर ब्युरोको टोलीले काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कामको सिलसिलामा चिनजान भई पीडित महिलासँग सामाजिक सञ्जाल फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी हुने गरेको र प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्विर देखाई उनले बदनाम गराउने उद्देश्य राखी युट्युबमा राखेको प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा पीडितको उजुरीपछि अनुसन्धानका क्रममा उनको संलग्नता खुलेसँगै पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको ब्युरोले सोमबार जनाएको छ ।

