Sunday, May 24

थाइल्याण्डकी प्रधानमन्त्रीलाई संवैधानिक अदालतले गर्‍यो निलम्बन

नेपालअखबार, काठमाडौं।थाइल्याण्डको संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट निलम्बन गरेको छ।

उनको पद खारेज गर्न माग गरिएको मुद्दाको सुनुवाइ नसकिएसम्म उनी निलम्बनमा रहनेछिन् भनी समाचार संस्था रोएटर्सले लेखेको छ।

Advertisement

अदालतले ३६ सिनेटरहरूबाट ३८ वर्षीया पेटोङटार्नविरूद्ध आएको निवेदन उपर सुनुवाइ गर्दै सो आदेश दिएको हो।

सो निवेदनमा पेटोङटार्नलाई कम्बोडियाका प्रभावशाली पूर्वनेता हुन सेनसँगको उनको टेलिफोन कुराकानीका आधारमा बेइमानी र संवैधानिक नैतिकताको मापदण्ड उल्लंघन गरेको आरोप लगाइएको छ।

जुन १५ मा कम्बोडियासँग बढ्दो सीमा तनाव कम गर्ने उद्देश्यले गरिएको फोन वार्ताका क्रममा पेटोङटार्नले हुन सेनअगाडि झुकेर थाई सेनाका कमाण्डरको आलोचना गरेकी थिइन्। सो फोन कुराकानीपछि चुहावट भएर सार्वजनिक गरिएको थियो।

थाइल्याण्डमा राजतन्त्रको आडमा सेना धेरै शक्तिशाली छ। उनको सो टिप्पणीले ‘लक्ष्मण रेखा’ पार गरेको मानिन्छ। सो कुराकानी सार्वजनिक भएपछि उनले माफी मागेकी थिइन्। आफ्नो टिप्पणी वार्ताको रणनीति मात्रै भएको उनले बताएकी थिइन्।

तर, त्यसपछि पनि विवाद मत्थर भएन। एक प्रमुख पार्टीले उनको सत्तारूढ गठबन्धन छोडेको छ। विपक्षीहरूले उनको राजीनामा मागिरहेको बेला अब चाँडै संसदमा अविश्वासको प्रस्ताव आउने अपेक्षा गरिएको छ।

अर्बपति सिनावात्रा परिवारकी पेटोङटार्न १० महिनादेखि सत्तामा छिन्। उनी सन् २००१ मा प्रधानमन्त्री निर्वाचित भएका थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन्। उनको परिवारले निर्वाचनमा लगातार राम्रो प्रदर्शन गर्दै आइरहेको छ। तर, सो परिवारनिकट नेताहरूको सरकार थाक्सिनको सरकारजस्तै सैन्य कू र सेनाको प्रभाव रहेको अदालतको शिकार बन्दै आएका छन्।