Sunday, July 26

कांग्रेसले एमाले बाहेक अन्य दलसँग चुनावी गठबन्धन गर्न तयार हुनुपर्छः डिला संग्रौला

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले एमाले बाहेकको चुनावी गठबन्धन गर्न पार्टी तयार हुनुपर्ने बताएकी छन् ।

Advertisement

संग्रौलाले कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले भएको हुँदा आवश्यक परे अन्य दलसँग चुनावी गठबन्धन बनाउनुपर्ने बताएकी हुन् ।

Advertisement
Advertisement

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै संग्रौलाले भनिन्,‘आउँदो चुनावमा एमाले नै हाम्रो मुख्य प्रतिद्वन्द्वी भएकाले यदि आवश्यक परे एमाले बाहेकको गठबन्धन बनाउन पनि हामी सक्रिय हुनुपर्छ ।’

Advertisement

वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन नसकेको बताउँदै संग्रौलाले कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको टिप्पणी गरिन् ।

उनले भनिन्,‘सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने तर नराम्रा कामको दोष हाम्रा साथीहरूलाई लाग्ने अवस्था अन्त्य हुनुपर्छ । केही नेताहरू सधै मन्त्री हुने भ्रममा छन्, जुन गलत हो । मेरो प्रस्ताव सरकारमा पार्टीको प्रभावकारी सहभागिता सुनिश्चित गर्न र मन्त्रीहरूको उत्तरदायित्व बढाउन पार्टीले स्पष्ट रणनीति बनाउनुपर्छ ।’

सांगठनिक विशेष अभियानका लागि १ असोजदेखि धनकुटामा केन्द्रीय प्रतिनिधि बनेकी संग्रौलाले जिल्लामा पार्टीको वस्तुगत अवस्था जानकारी गराएकी हुन् । उनलेपार्टीभित्र आन्तरिक मनमुटाव तल्लो तहसम्म पुगेको बताइन् ।

बोल्दै संग्रौलाले आन्तरिक मनमुटाव र गुटबन्दी, भ्रातृ संस्थाहरूको अधिवेशनको अभाव, नेता–कार्यकर्ता र जनप्रतिनिधिबीच दूरी बढेको लगायतका आन्तरिक समस्या प्रस्तुत गरेकी छन् ।

विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुने व्यवस्थालाई कडाइका साथ लागु गर्नुपर्ने उनले बताइन् ।

उनले भनिन्,‘सभापतिज्यूले महाधिवेशन तोकिएको समयमै हुने भन्नुभएको छ । तर, मंसिरमा हुने सम्भावना कम देखिन्छ ।’ संग्रौलाले महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गर्न समेत माग गरिन् ।

नेविसंघ, तरुण दल, र महिला संघ जस्ता भ्रातृ संस्थाहरूमा देखिएको विवाद र अधिवेशनको ढिलाइले संगठनमा गम्भीर असर परेकोप्रति नेतृत्वको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्,‘महाधिवेशन निर्देशन समितिको भूमिका पनि प्रभावकारी देखिएन। मेरो सुझावः भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल स्पष्ट कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्छ। यदि नेतृत्वले जिम्मेवारी पूरा गर्न सक्दैन भने नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनुपर्छ ।’