Monday, July 27

९ वर्षमा टुंगियो गाउँपालिकाको केन्द्र

नेपालअखबार, बागलुङ। विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ।

Advertisement

काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसेको १७औं गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत रूपमा पालिकाको भवन बनाउने स्थानको टुंगो लगाएको हो।

Advertisement
Advertisement

बागलुङका १० पालिकामध्ये नौ पालिका आफ्नै भवनमा रहँदा बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण हुनसकेको थिएन।

Advertisement

भवनका निर्माणका लागि स्थान छनोटमा सहमति नजुट्दा अहिलेसम्म गाउँपालिका भाडाकै घरमा सञ्चालनमा हुँदै आएको छ।

काठेखोला गाउँपालिका–२ अक्षते र वडा नं ६ को सुल्डाँडा स्थानीय जग्गा उपलब्ध गराउन राजी भए पनि निर्वाचित जनप्रतिनिधिको मत बाँझिदा समस्या भएको थियो।

यही असार १० गते १७ औं गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदानसमेत भएको थियो। मतदानका क्रममा समेत अक्षते र सुलल्डाँडा कुनै पनि ठाउँका लागि दुईतिहाइ मत प्राप्त हुन सकेन।

अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो। ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए।

बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर पालिकाको प्रशासनिक केन्द्र अछेते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमतिपश्चात बिहीबार बसेको १७औँ गाउँसभामा सर्वसम्मत रूपमा पास भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।

‘स्थापनाको नौ वर्षमा गाउँपालिकाको भवन निर्माण गर्ने स्थानको टुङ्गो लागेको छ, आमपाटामा स्थानीयले छ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्, आगमी वर्ष पालिकाको भवन निर्माण गर्न थालिन्छ,’ अध्यक्ष थापाले भने, ‘राजनीतिक दलको एकताका कारण निर्वाचनपछि समेत नटुङ्गिएको भवन निर्माणस्थल सर्वसम्मतिमा टुङ्गो लागेको हो, पालिकाले अहिले मासिक रु ६० हजार तिरेर सुल्डाँडाबाट सेवा दिँदै आएको छ।’

गाउँपालिकाले सुल्डाँडाका आधा दर्जन घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । पालिकाको आफ्नै भवन नहुँदा हरेक वर्ष रु सात लाख बढी घरभाडा तिर्दै आएको छ । बागलुङका अन्य नौ पालिकाले आफ्नै भवन बनाइसकेका छन्।