Wednesday, July 15

‘उदयपुर फाइल्स’हिन्दी फिल्मलाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

नेपालअखबार, काठमाडौं । भारतीय फिल्म ‘उदयपुर फाइल्स : कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् ।

Advertisement

मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पुर्‍याउन सक्ने बताइएको छ ।

Advertisement
Advertisement

फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु-मुस्लिम दंगा देखाइएको जनाउँदै फिल्म रोक्न माग गरिएको हो ।

Advertisement

‘हाम्रो देशमा हिन्दु र मुस्लिम सबै धर्मका मानिसहरू मिलेर बस्छन् । यस्ता चलचित्रले हाम्रो देशको शान्तिलाई हानि पुर्‍याउन सक्छन्’ पत्रमा उल्लेख छ, ‘त्यसकारण, हामी मुस्लिम आयोगलाई हाम्रो देश नेपालमा यो फिल्म रिलिज नगर्न नेपाल सरकारलाई तुरुन्तै अपिल गर्न अनुरोध गर्दछौं ।’

बोर्ड अध्यक्ष दिनेश डीसीले पनि पत्र आफूकहाँ आइपुगेको जनाउँदै यसप्रति ध्यानाकर्षण भएको बताए । ‘उहाँहरूले नेपालमा फिल्म आइहाले रोक लगाउन भन्नुभएको छ’ उनले भने ।

भारतमा भने यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

यो क्राइम थ्रीलर फिल्मलाई एस श्रीनात र जयन्तसिंहले निर्देशन गरेका हुन् । जसलाई अमितजानीले निर्माण र रिलायन्स इन्टरटेनमेन्टले वितरण गरेका छन् ।

यसले राजस्थानको उदयपुरमा सन् २०२२ मा भएको दर्जी कन्हैया लालको वास्तविक जीवन र क्रूर हत्यालाई नाटकीय रूपमा प्रस्तुत गर्दछ । नुपुर शर्मालाई समर्थन गर्ने सामाजिक सञ्जाल पोस्टको बदला लिने आरोप लगाइएको कथावस्तु यसमा छ ।