
नेपालअखबार,काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्दै आएको शुल्क बढाउने गृहकार्य थालेको छ ।
वैदेशिक रोजगार विभागले श्रमिकले तिर्दै आएको शुल्क बढाउने विषयमा गृहकार्य अघि बढाएको हो ।
विभागका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले श्रमिकबाट लिने शुल्क बढाउनेबारे छलफल अघि बढेको बताए ।
हाल वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले १५०० र २५०० रूपैयाँ शुल्क तिर्दै आएका छन् ।
तीन वर्षसम्मको करार अवधि भएर विदेश जानेको हकमा १५०० र तीन वर्षभन्दा माथिको करार अवधि भएर विदेश जानेको हकमा २५०० शुल्क लिने गरिएको छ ।
विभागले उक्त शुल्क बढाउनेगरी गृहकार्य अघि बढाएको हो । श्रमिकसँग मेनपावर व्यवसायीहरूले राख्दै आएको धरौटी समेत बढाएर अघि बढ्ने विषयमा छलफल अघि बढेको उप्रेतीले बताए ।
त्यसका लागि विभाग अन्तर्गत रहेको नीति, कानुन एवं व्यवस्थापन समितिले गृहकार्य अघि बढाएको उनको भनाइ छ ।
शुल्क बढाएर विभागबाट प्रदान गरिने सेवा सुविधासमेत बढाउनेगरी तयारी भइरहेको बताए ।
हाल वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको राहत तथा उद्धारको कार्य विभागले गर्दै आएको छ ।
त्यस्तै वैदेशिक रोजगारीमा जाने मृतक श्रमिकको परिवारलाई विभागले १० लाख रूपैयाँ प्रदान गर्दैै आएको छ ।
त्यस्तै अंगभंग तथा विरामी भएका श्रमिकको हकमा ७ लाख रूपैयाँ, श्रमिकको परिवारलाई स्वास्थ्य उपचारका लागि ५० हजार, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा पूर्ण अशक्त व्यक्तिका सन्ततिका लागि आधारभूत तहसम्म १२ हजार र माध्यमिक तहसम्म १६ हजार रूपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
विभागले आर्थिक सहायता समेत बढाउने वैदेशिक रोजगारीमा जाँदा श्रमिकबाट लिने शुल्क समेत बढाउनेगरी तयारी अघि बढाएको हो ।
विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले पछिल्लो समय युरोप लगायतका मुलुकमा जाने श्रमिकको बढिरहेको बताए ।
जसले गर्दा यूरोपमा मृत्यु भएकाहरूको शव ल्याउन समेत निकै महंगो पर्ने गरेको बताए ।
‘पोर्चुगल, माल्टा, पोल्याण्ड लगायतका युरोपका देशबाट शव ल्याउँदा निकै बढी खर्च लाग्छ ।
एउटाको शव ल्याउँदा १८ लाखसम्म खर्च भएको थियो । त्यही भएर बढाउने कि भनेर छलफल भइरहेको हो’, सुवेदीले भने ।
देशगत रूपमा समेत बढाउने वा समग्रमा बढाउने विषयमा छलफल अघि बढेको उनको भनाइ छ ।


