Saturday, July 25

विदेशमा भएका नेपालीलाई भोट हाल्ने अधिकार दिन अध्यादेश ल्याउने सरकारको तयारी

नेपालअखबार,काठमाडौँ । विदेशमा भएका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा आवश्यक कानुनी प्रबन्ध गर्ने विषयमा गृह मन्त्रलायले निर्वाचन आयोगसँग छलफल गर्ने भएको छ।

Advertisement

गृह मन्त्रालयले विदेशमा भएका नेपालीहरूलाई भोट हाल्ने अधिकारका लागि केही निर्वाचन सम्बन्धी कानुन संशोधन सम्बन्धी अध्यादेशको मस्यौदा समेत तयार पारेको छ।

Advertisement
Advertisement

‘विदेशमा भएका नेपालीलाई मत हाल्न दिन कानुनी प्रबन्ध गर्ने विषयमा छलफल भइरहेको छ,’ रिजालले भने, ‘प्रारम्भिक मस्यौदा भएको छ। हामी निर्वाचन आयोगसँग छलफल गर्दैछौँ।’

Advertisement

अन्तिम मतदाता नामावलीमा नाम भएका र विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार प्रदान गर्ने गरी मस्यौदा बनेको रिजालले बताए।

सर्वोच्च अदालतले यसअघि नै विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार प्रदान गर्ने विषयमा नीति अनुसन्धान प्रतिष्ठानलाई यसअघि नै अध्ययनको जिम्मा दिइसकेको छ।

प्रतिष्ठानका कार्यालय प्रबन्धक लक्ष्मणप्रसाद भट्टराईले विभिन्न मुलुकले अपनाएका मतदानका तौरतरिकाबारे अध्ययन भइरहेको बताए।

‘हामीले अहिले विभिन्न मुलुकका अनुभव अध्ययन गर्दैछौँ। अध्ययन प्रारम्भिक तहमा छ,’ भट्टराईले भने, ‘हामी आयोगसँग पनि छलफल गर्छौं।’

रिजालले प्रतिनिधि सभा निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, निर्वाचन कसूर तथा सजाय ऐन र मतदाता नामावली ऐनमा अध्यादेश मार्फत् संशोधन गर्ने तयारी रहेको बताए।

सरकारले कम्तीमा केही मुलुकबाट भए पनि अहिले मताधिकारको व्यवस्था मिलाउने गरी काम गर्न खोजेको छ। तर यसरी मतदान गराउन ती देशसँग कूटनीतिक पहल गर्नुपर्ने हुन्छ। ती देशहरूले कसरी प्रतिक्रिया दिन्छन्, त्यस आधारमा मात्र सरकारले मतदानको व्यवस्था मिलाउनेछ।

निर्वाचन आयोगले सरकारले बजेट, स्रोत साधन र कानुनी जटिलता फुकाइदिए मतदानको प्रबन्ध गर्न तयार रहेको बताउँदै आएको छ ।