Saturday, April 18

संसदभित्र निषेध, विभेद र सिन्डिकेट छ : प्रभु साह

नेपालअखबार, काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदभित्र निषेध, विभेद र सिन्डिकेट भएको भन्दै सिंगो लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन् ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले तटस्थ र सम्मानित सभामुख समेत ‘हल्का’ र ‘विवादित’ भइरहेको बताउँदै संसद् संसद् जस्तो नभएको अनुभूति सुनाए ।

‘आजकाल संसद् संसद् जस्तो छैन । संसद्भित्रको नकारात्मक क्रियाकलापले संसद्को गरिमा खस्किँदै गइरहेको हामीले देखिरहेका छौँ । तटस्थ र सम्मानित सभामुख समेत हल्का र विवादित भइरहेको हामीले हेरिरहेका छौँ,’  साहले भने, ‘संसदभित्रको निषेध, विभेद र सिन्डिकेटले सिङ्गै लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ । राज्य र सरकारलाई नियमन गर्ने राज्यको सर्वोच्च निकाय संसद्मा निषेध कतिको उचित छ भन्ने प्रश्न गर्न चाहन्छु ।’

Advertisement

सानो दलहरूमाथि संसदमा निषेध भइरहेको उनले बताए । यदि निषेध गरिएको होइन भने संसदको कार्य व्यवस्थामा एक सिट भएको दललाई किन निषेध गरिएको भन्दै प्रश्न उठाए । अहिले एक सिट भएका तीन वटा दलहरूलाई कार्य व्यवस्थामा किन निषेध गरिएको भन्दै जवाफ माग गरे ।

संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको उनले बताए । साहले प्रश्न गर्दै भने, ‘के एक सिट हुँदैमा पछाडि बस्नुपर्ने ? सत्तापक्षमा भएपछि के अगाडी बस्नुपर्ने ? सिट प्लानिङको कुनै मापदण्ड हुनुपर्छ कि पर्दैन ? हामी हेरिरहेका छौँ, सिट १७ वटा छ । त अगाडीबाट १७ जोडेर अर्को १७ गरी एउटा न्यायिक ढङ्गले गर्नुपर्छ कि पर्दैन ? तर आज ठुलोले सानोलाई हेप्ने, विभेद गर्ने, निषेध गर्ने जो खेल भइरहेको छ, संसदभित्रको यो खेलले देशको जनतालाई कसरी आश्वस्त गर्ने ? यो सरकार र यहाँका नेतृत्व लोकतन्त्रप्रति प्रतिबद्ध छ, प्रतिस्पर्धामा विश्वास गर्छ । सानोको पनि सम्मान गर्छ भन्ने भाव त कतै देखिएन सभामुखज्यू ।’

ठुलो दल उभियो भने संसद् अवरुद्ध हुने तर दुई दलले ७० दिनदेखि संसद् बहिष्कार गर्दा समेत अवरुद्ध नहुने बताउँदै संसद् बहिष्कार गर्ने दलहरूसँग सरकारले वार्ता, छलफल पनि गर्न नचाहनु संसदभित्र ठुला दलको दम्भ भएको बताए । साहले २०६३ सालदेखि निरन्तर सांसद रहेको, कार्य व्यवस्था समितिका साथै संसदीय व्यवस्था मन्त्रीदेखि संसदीय सभापतिको समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउँदै यस्तो विभेद आफूले कहिल्यै पनि नदेखेको उनले बताए । ६०१ सदस्यीय संविधानसभा र ३० वटा दल हुँदा समेत यस्तो विभेद नभएको स्मरण उनले गरे ।