
नेपालअखबार,काठमाडौं । निर्देशक कृषा चौलागाईले पछिल्लो पटक निर्देशन गरेको चलचित्रहरु ऐँचोपैँचो र पिताम्बरले आर्थिक रुपमा र समिक्षकीय रुपमा राम्रो सफलता पाएपछि महिला निर्देशकले गरेको यो प्रयासलाइ लिएर अहिले चौतर्फी तारिफ बटुल्नुभएको छ ।
कृषा भन्नुहुन्छ ‘फिल्म निर्देशन मेरो सानै देखिको सपना थियो ।’ उहाँले ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ जस्ता फिल्म निर्माण गरेर यो क्षेत्रमा डेढ दशक बिताउनु भयाे । उहाँले त्यही अनुभवलाई आत्मा साथ गर्दे निर्देशनमा होमिएकाे बताउनु भयाे ।
कृषा निर्मातापछि सीधै फिल्म निर्देशक बन्नु भएको भने होइन । पहिले उहाँले ‘विज्ञापन’ फिल्म निर्देशन गर्नुभयो, सर्ट फिल्म निर्देशन गरेर देश विदेशका फेस्टिभलमा पठाउनु भयाे । उहाँले त्यसपछि ‘ऐँचो पैँचो’ फिल्ममार्फत निर्देशनमा डेब्यु गर्नु भएकाे हाे । त्यसपछिको दोस्रो फिल्म हो यो ‘पिताम्बर’ ।
कृषा भन्नु हुन्छ ‘बजारमा बेलाबेलामा हल्ला पनि आउने गर्छ। नेपाली चलचित्रको बजार छैन? तर मलाई त्यस्तो लाग्दैन। राम्रा चलचित्रहरू निर्माण गर्न सक्यौँ भने हामीले सोचेभन्दा राम्रो नेपाली चलचित्रको लागि बजार छ। नेपालमा मात्र होइन विदेशमा रहेका दर्शकहरुले पनि नेपाली चलचित्रलाई उत्तिकै माया दिने गरेका छन् । एउटै समयमा तीन, चारवटा चलचित्रहरु हलमा प्रदर्शन हुँदै गर्दा पनि कथावस्तु मिलेका उत्कृष्ट चलचित्रलाई दर्शकहरूले माया गरेका छन् र यही माया पाउनेमा मैले निर्देशन गरेको पिताम्बर पनि एक नेपाली चलचित्र हो ’ ।
‘नेपाल चलचित्र विकास बोर्डले आफ्नो भूमिका निर्वाह गर्दै गर्दा हामी चलचित्रकर्मीहरूलाई मध्यस्थकर्ताको रुपमा सहयोग गरिदिए चलचित्र निर्माण गर्न अझ सहज हुने थियो । हामी कथावस्तु मागेअनुसार लोकेसनमा सुटिङका लागि लोकेसनमा पुग्ने गर्दछौं। तर हामीले चाहे अनुसारको लोकेसन पाउन धेरै गाह्रो हुन्छ । चलचित्रहरू समाजका नै ऐना हुन् हामीले निर्माण गरेको चलचित्रमा विशेष गरी प्रहरी प्रशासनको भूमिका निर्वाह गरेको देखाउने बेला चाहे अनुसारको वातावरण हामीले पाउँदैनौं। यदि चलचित्र विकास बोर्डले प्रशासनसँग मध्यस्तता गरिदिने हो र चलचित्र निर्माण गर्नको लागि स्टुडियो बनाइदिने हो भने हामीलाई धेरै सहज हुन्छ।’ निर्देशक कृषाले बताउनु भयाे ।
‘हरेक फिल्म निर्माण गर्दा हरेक पल एउटा नयाँ अनुभूति हुने गर्छ र त्यही अनुभूति अनुभवलाई सगाल्दै नयाँ फिल्म बनाउने क्रममा कार्यान्वयन गर्दै आएकी छु। अहिले यतिखेर मसँग दुइटा स्क्रिप्टहरु रहेका छन् । छिटै चलचित्रको नाम र कलाकारहरु सहित सार्वजनिक हुनेछु । ‘ कृषा थप्नुहुन्छ ।

