
नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको पैसा ४ खर्बमा झरेको छ ।
शुक्रबार स्थायी निक्षेप सुविधाको साढे २ खर्ब फिर्ता भएसँगै केन्द्रीय बैंकमा रहेको बक्यौता रकम घटेको हो ।
शुक्रबार केन्द्रीय बैंकसँग निक्षेप संकलन उपकरण मार्फत खिचेको पैसा ४ खर्ब १५ अर्ब मात्रै बक्यौता रहेको हो ।
आर्थिक गतिविधिमा आएको सुस्तताका कारण समग्र बजार माग बढ्न सकेको छैन । बजार माग नबढेपछि उपभोग पनि बढ्न सकेको छैन । त्यसले गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी समेत अपेक्षा अनुसार बढ्न सकेको छैन ।
रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार आए पनि उपभोगमा सुधार नआउँदा वित्तीय प्रणालीमा अधिक तरलता समस्या देखिएको हो ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अन्तरबैंक ब्याजदर घट्ने गर्छ । अन्तरबैंक दर घट्दा समग्र ब्याजदरलाई पनि असर गर्छ । त्यसका लागि केन्द्रीय बैंकले ब्याजदर करिडोर लागु गरेको छ ।
ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशतभन्दा तल अन्तरबैंक दर आएको खण्डमा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत तरलता खिचेर ब्याजदर बढाउँछ ।
बिहीबार मात्रै केन्द्रीय बैंकले ३५ दिन अवधिको ४० अर्ब रुपैयाँ बराबर निक्षेप संलकन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा बैंक तथा वित्तीय संस्था लगानी गर्न इच्छुक देखिएनन् ।
बिहीबार २ खर्ब ५३ अर्ब स्थायी निक्षेप राखेका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणमा लगानी गरेनन् । बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब माग गरिए पनि केन्द्रीय बैंकलाई १५ अर्ब ५० करोडमात्र निक्षेप दिए ।
निक्षेप संकलन उपकरणको लगानी धेरै दिनका लागि होल्ड हुने भएकाले पनि बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गरेका हुन् । स्थायी निक्षेप सुविधाको अवधिमा ३ दिन मात्रै हो ।

