Tuesday, July 28

पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीयलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको महाराष्ट्र, पश्चिम बंगाल, कलकता घर भई पोखराका चार वटा फरक–फरक वडामा बस्ने ११ जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कोलकताका ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र भारतकै ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन् । उनीहरु कालीगढ र सुनचाँदीकै काममा संलग्न रहेको खुलेको छ ।

Advertisement
Advertisement

उनीहरुलाई पोखरा महानगरपालिका २, ३, ४ र ९ नम्बर वडामा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीयाले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए । अवैध कारोबारबारे प्रहरीले केही समय पहिल्यै सूचना पाएको थियो ।

Advertisement

गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयको टोली शुक्रबार अपराह्न ४ बजेदेखि अपरेसनमा खटिएको थियो । प्रहरीले यसलाई ‘अपरेसन यल्लो मेटल’ नाम दिएको थियो । उनीहरुको साथबाट ५ सय ४९ तोला ४० लाल (६ किलो ४ सय ग्राम) सुन, ४ सय ४४ तोला ७३ लाल (५ किलो ३ सय ग्राम) चाँदी र ५ लाख १४ हजार ६ सय ६५ रुपैयाँ बरामद भएको एसपी ओलीयाले बताए । ‘घर भारत भएकाले उतैबाट ल्याउने अनि यता बनाउने, बेच्ने गरेको खुलेको छ,’ उनले भने ।

अर्का एक जना कारोबारी सञ्जय ढाव भने प्रहरी आउने सूचना पाएपछि फरार भएका छन् । प्रहरीले अपरेसन चलाएको पत्तो पाएपछि उनी १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार रुपैयाँ छोडेर भागेका हुन् ।

पक्राउ परेका ११ जनालाई थप अनुसन्धानका लागि बरामद सामानसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।

बरामद सुनको मूल्य पछिल्लो बजार भाउअनुसार ११ करोड १ लाख ४ हजार रुपैयाँ र चाँदीको मूल्य १० लाख ३९ हजार रुपैयाँ पर्छ ।