Saturday, November 15

अन्तर्राष्ट्रिय म्याराथन धावक गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन

नेपालअखबार, पोखरा । अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नुभएको छ ।

Advertisement

पर्वत जिल्ला खाल्टेमा जन्मनुभएका गुरुङले प्रथम पुरस्कार स्वरूप ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने गरी सम्झौता समेत गर्नुभएको हो । सम्झौता पत्र शुक्रवार पोखरामा सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बरालबिच आदानप्रदान गरिएको हो ।

Advertisement

बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवर्द्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा आयोजना गर्न सुझाव दिनुभयो ।

सहारा क्लबका पूर्व अध्यक्ष थकालीले गुरुङको सहयोगलाई ‘प्रशंसनीय र प्रेरणादायी’ भन्दै खेलकुद मार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च राख्न गुरुङको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, अफिसियल टेलिभिजनमा सिटी वान टेलिभिजन जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । साथै नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सात हजार, तीन हजार र छैटौँदेखि १० औँ स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एक हजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमले बताउनुभयो ।