Saturday, July 18

सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरीका जवान देखी हवलदार सम्मका कर्मचारीलाई ‘तल्लो दर्जा’ नभन्न निर्देशन दिएका छन् । नक्सालमा प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन गर्दै मन्त्री लेखकले भने, ‘सिपाही हवलदारलाई तल्लो दर्जा भन्ने होइन, किनभने यो सङ्गठन त्यही दर्जामा उभिएको छ ।’तल्लो तहका कर्मचारीलाई ऐनमा पनि ‘आधारभूत दर्जा’ भन्ने शब्दावली व्यवस्था गरिने लेखकले बताए । निजामती कर्मचारीहरूले कुर्सी टेबलमा बसेर काम गर्ने गरेको उल्लेख गर्दै लेखकले  प्रहरीले चाहिँ १४ घण्टासम्म उभिएरै काम गर्ने गरेको बताए । उनले भने, ‘उभिएर काम गर्ने सबै आधारभूत दर्जाका कर्मचारी हुन् ।’

Advertisement

छलफलमा रहेको प्रहरी विधेयकमा आधारभूत दर्जाका प्रहरीलाई १६ वर्षमा नै निवृत्तिभरण दिने प्रस्ताव गरिएको उल्लेख गर्दै लेखकले सो व्यवस्था कानुनमा ल्याइने बताए । उनले भने, ‘राज्यव्यवस्था समितिको बैठक बस्न सक्ने अवस्था नभएको हुनाले प्रहरी विधेयक अघि बढेको छैन, विधेयक पास हुँदा १६ वर्षमा पेन्सन दिने व्यवस्था कानुनमा आउँछ ।’

Advertisement
Advertisement

स्थापनाको ७४ वर्षपछि महिला प्रहरी सम्मेलन गरेर प्रहरीले एउटा इतिहास थपेको लेखकले बताए । उनले भने, ‘स्थापनाको ७४ वर्षपछि महिला प्रहरीको सङ्गठित स्वरूप र सम्मेलनको आज प्रारम्भ भएको छ ।’ नयाँ इतिहासको प्रारम्भ गरेको भन्दै लेखकले आईजीपी दीपक थापालाई धन्यवाद दिएका छन् ।

Advertisement

प्रहरीमा १२ प्रतिशत महिला कर्मचारी छन् । दोस्रो जन आन्दोलनपछि प्रहरीमा महिलाको उपस्थिति बढेको गृहमन्त्री लेखकले दाबी गरेका छन् । उनले भने, ‘समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो अठोट प्रहरीमा महिला प्रहरीको सङ्ख्यामा भएको वृद्धिले पुष्टि गर्छ ।’

महिला प्रहरीको क्षमतामा वृद्धि मा ध्यान दिनुपर्ने उल्लेख गर्दै लेखकले महिलाका लागी समानता, सशक्तीकरण र सम्भावनाको खोजी गर्न आवश्यक रहेको बताए । उनले भने, ‘सबै सम्भावनामा महिलाहरूलाई समाहित गर्नुपर्छ ।’