Friday, July 17

गाजामा बालबालिकाको दुर्दशाको मुद्दा उठाउँदै एमिनको पत्र मेलानिया ट्रम्पलाई

नेपालअखबार ,काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानकी पत्नी तथा देशकी प्रथम महिला एमिन एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेखेकी छिन् ।

Advertisement

यस पत्रमा उनले मेलानिया ट्रम्पलाई इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग सम्पर्क गरी गाजामा रहेका बालबालिकाको दुर्दशाको मुद्दा उठाउन आग्रह गरेकी छिन् ।

Advertisement
Advertisement

बीबीसीका अनुसार, अंकारास्थित अधिकारीहरूले शनिबार एमिनको पत्रबारे जानकारी दिएका हुन् ।

Advertisement

एमिन एर्दोगानले आफ्नो पत्रमा मेलानिया ट्रम्पले यसै महिनाको सुरुवातमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन र रूसका बालबालिकाबारे पठाएको पत्रबाट आफूलाई प्रेरणा प्राप्त भएको उल्लेख गरेकी छन् ।

उनले भनिन्, ‘मलाई विश्वास छ, तपाईंले ६४८ युक्रेनी बालबालिकाको लागि देखाउनुभएको संवेदनशीलता गाजाका लागि पनि देखाउनुहुनेछ ।’

टर्कीको राष्ट्रपति कार्यालयबाट सार्वजनिक गरिएको उक्त पत्रबारे हालसम्म ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन।

एमिन एर्दोगानले अझै लेखेकी छन्, ‘आजको दिनमा जब विश्व सामूहिक चेतनामा छ र प्यालेस्टाइनको मान्यता विश्वव्यापी चाहना बनेको छ, गाजाको पक्षमा तपाईंको आह्वानले प्यालेस्टिनी जनताप्रति ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ भन्ने मलाई लाग्छ ।’

एक अन्तर्राष्ट्रिय भोकमरी निगरानी संस्थाले शुक्रबार जनाए अनुसार गाजा सिटी र आसपासका क्षेत्र भोकमरीको चपेटामा परेका छन् र मृत्युदर ह्वात्तै बढेको छ । आगामी दिनमा अवस्था अझ बिग्रन सक्ने अनुमान गरिएको छ।

यस रिपोर्टपछि इजरायलमाथि प्यालेस्टिनी क्षेत्रमा थप सहयोग पुर्‍याउन दबाब बढेको छ।

तर, इजरायली प्रधानमन्त्री नेतन्याहूले यस रिपोर्टलाई ‘पूर्णरूपमा झूट’ भन्दै खारेज गरेका छन् र भनेका छन्, ‘इजरायलको नीति भोकमरी रोक्ने हो, भोकमरी सिर्जना गर्ने होइन।’

यो युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो, जब हमासले दक्षिणी इजरायलमा १,२०० मानिसको हत्या गरेको र करिब २५० जनालाई बन्धक बनाएको थियो।

गाजाका स्वास्थ्य अधिकारीहरूको दाबीअनुसार हालसम्म इजरायली सैन्य अभियानमा ६२ हजार भन्दा बढी फिलिस्तीनी मारिएका छन्, जसमा अधिकांश महिला र बालबालिका रहेका छन्।

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजा सिटी र वरिपरिको क्षेत्रमा पुष्टि भएको भोकमरीलाई ‘मानवताको असफलता’ भनेर वर्णन गरेका छन्।

गुटेरेसले यो अवस्थालाई ‘मानवद्वारा सिर्जित विपत्ति’ भन्दै आलोचना गरेका छन् । विश्वभर खाद्य असुरक्षाको स्तर पहिचान गर्ने संयुक्त राष्ट्रसंघ समर्थित निकायले उक्त क्षेत्रमा खाद्य असुरक्षाको स्तरलाई पाँचौँ चरणमा पुगेको उल्लेख गरिसकेको छ । यो सबैभन्दा उच्च र गम्भीर स्तर हो ।