Wednesday, July 15

मन्त्री न्यौपाने र कार्यवाहक स्वीस राजदूत माइयरबिच शिष्टाचार भेट

नेपालअखबार, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत तथा स्वीस दूतावासका विकास सहायता प्रमुख मथियास माइयरबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

Advertisement

भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि कायम रहेको नेपाल–स्वीट्जरल्याण्डबिचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै, नेपालको आर्थिक–सामाजिक विकासमा स्वीस विकास सहयोगले पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

Advertisement
Advertisement

मन्त्री न्यौपानेले कोशी र बागमती प्रदेशका नगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि स्वीस सरकार र अर्थ मन्त्रालयको सहकार्यमा परियोजना दस्तावेज तयार भइरहेको उल्लेख गर्दै, चाँडै द्विपक्षीय सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन्

Advertisement

उनले प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (ENPA) दोस्रो चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक उपलब्धि भन्दै, पहिलो चरणको अनुभवका आधारमा दोस्रो चरण अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। साथै, स्वीस सरकार, युरोपेली संघलगायतका विकास साझेदारहरूको निरन्तर सहयोगप्रति धन्यवाद पनि ज्ञापन गरेकी थिइन्।

सो अवसरमा कार्यवाहक राजदूत माइयरले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना दिँदै मन्त्रालयसँग भएको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरे। उनले ENPA दोस्रो चरण संशोधनसहित कार्यान्वयनमा ल्याउन गरिएको प्रयासलाई स्मरण गर्दै, स्थानीय शासन सबलीकरण तथा संघीयता सुदृढीकरणका लागि यसलाई मुख्य आधार कार्यक्रमको रूपमा व्याख्या गरे।

कार्यवाहक राजदूतले कार्यक्रममा हुने अनुगमन गतिविधिमा मन्त्री न्यौपानेलाई सहभागी हुन अनुरोध समेत गरे।