Saturday, July 25

इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी

नेपालअखबार,काठमाडौँ । हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिएको दाबी गरेका छन्।

Advertisement

इसराइलले यमनको राजधानी सनामा बिहीबार गरेको भीषण हवाई आक्रमणमा यमनी प्रधानमन्त्री गालिब र अन्य थुप्रै उच्च अधिकारी मारिएको हुथी विद्रोहीले दाबी गरेका छन्।

Advertisement
Advertisement

प्रधानमन्त्री गालिब मारिएको दाबीसहित हुथीले इसराइलले यसको नराम्रो परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हुथीको राजनीतिक परिषद् (पोलिटिकल काउन्सिल)का प्रमुख महदी अल मशातले प्रधानमन्त्री गालिब मारिएको पुष्टि गरेका हुन्।

‘यो रक्तपातको प्रतिशोध लिनेछौं र यी घाउहरूलाई हामी विजयमा रूपान्तरण गर्नछौं,’ मशातले भिडिओ सन्देशमार्फत भनेका छन्, ‘यमनी जनता, सहिद र घाइतेका परिवारलाई वचन दिन्छौं।’

हुथी सञ्चालित  टेलिभिजनले पनि बिहीबार राजधानी सानामा भएको आक्रमणमा प्रधानमन्त्री अल–राहावी मारिएको समाचारहरू प्रसारण गरेको छ। सो आक्रमणमा उनका केही मन्त्रीहरू गम्भीर घाइते भएको रिपोर्टहरू सार्वजनिक गरेको छ।

यसको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ।

पुष्टि भए इसराइली आक्रमणबाट सरकारकै  वरिष्ठ अधिकारीहरू मारिएको यो पहिलो घटना हुनेछ।

इसराइली रक्षामन्त्री इसराइल कात्जले शनिबार विज्ञप्ती जारी गरेर हुथी नेतृत्वमाथि नै प्रहार गरेको भनेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

‘हुथी प्रधानमन्त्री, उनका अधिकांश मन्त्री र अन्य उच्च अधिकारीहरूलाई हामीले समाप्त गरेका छौं,’ रक्षामन्त्री कात्जलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।

उनले हुथीलाई यसअघि नै चेतावनी दिइएको र सो अनुसार इसराइलले आक्रमण गरेको भनेका छन्।

आक्रमणपछि हुथीका रक्षा मन्त्री मेजर जनरल मोहम्मद नासेर अल अतिफीले अमेरिका समर्थि ‘जियोनिस्ट शत्रु’सँग लड्न हरेक स्तरमा तयार भएको बताएका छन्।

हुथीका अनुसार  इसराइली आक्रमणका बेला सरकार वार्षिक कार्य मूल्याङ्कनका लागि बैठकमा व्यस्त थियो। त्यही अवसरलाई इसराइलले लक्षित आक्रमणका लागि प्रयोग गरेको बताइएको छ। बैठकमा अरू मन्त्रीहरू पनि सहभागी थिए। अन्य मन्त्रीहरू मारिएको विषयमा भने खुलेको छैन।

यो पटक इसराइलले राष्ट्रपति भवननजिकै रहेको सैन्य आधार, दुईवटा विद्युत केन्द्र र इन्धन भण्डारण केन्द्रमा समेत बम खसालेको बताइएको छ।

गजामा युद्ध सुरु भएको करिब दुई वर्षयता इसराइलले इरान–समर्थित विभिन्न समूहका शीर्ष नेताहरूलाई योजनाबद्ध रूपमा आक्रमण गर्दै आएको छ।

गत वर्ष तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाहको हत्या भएको थियो। त्यसको दुई महिनापछि बेरुतमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएका थिए। गाजामा हमास नेता यह्या सिनवार र उनका दाजु मोहम्मद सिनवार पनि इसराइली आक्रमणमा मारिएका थिए।

हुथीहरूले प्लालेस्टिनीको नागरिकको समर्थनमा रेड सिमा अमेरिकी र इसराइली जहाजहरूलाई लक्ष्य बनाएर हवाई हमला गर्दै आएका छन